युरोपेली युनियनद्वारा १३२० खर्बको राहत योजना संसदमा प्रस्तुत

कोरोना भाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार १० खर्ब युरो (१३२० खर्ब रुपैयाँ) को राहत योजना सार्वजनिक गरिने भएको छ ।

 

महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा गर्न लागेको हो ।

 

कोरोना भाइरसबाट विश्वभर तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् ।

 

दक्षिण (ल्याटिन) अमेरिकामा भाइरसको विनाशलिला जारी रहेकै अवस्थामा युरोपमा भने संक्रमणमा केही न्यूनता आएसँगै बिस्तारै व्यवसाय खोल्न थालिएको छ । तर युरोपमै सर्वाधिक क्षति व्यहोरेका इटाली र स्पेनलाई आफ्नो अर्थव्यवस्था पुनर्जीवित तुल्याउन निकै हम्मे पर्ने देखिएको छ ।

 

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लिनले बुधबार १० खर्ब युरोको आर्थिक प्रस्ताव युरोपेली संसदमा प्रस्तुत गर्नु हुनेछ । कोरोना महामारीबाट सर्वाधिक असर परेका मुलुकका लागि यस प्रस्तावमा ऋण र अनुदान दुबै उपलब्ध गराउने योजना समेटिएको छ ।

 

युरोपेली संसदमा यस प्रस्तावमाथि निकै चर्को बहस हुनेछ किनकि इटाली र स्पेन जस्ता पहिल्यै ऋणभार बढी भएका र महामारीको क्षति पनि बढी सहनु परेका मुलुकले ऋणभन्दा अनुदानकै लागि पहिलो प्रयास गर्नेछन् ।

 

युरोपेली महादेशले कोभिड-१९ बाट एक लाख ७२ हजारभन्दा बढी मानिस गुमाइसकेको अवस्थामा आएको नयाँ आर्थिक प्रस्तावले मानवीय क्षति र आर्थिक विनाशलाई सम्बोधन गर्नुपर्ने कठिन अवस्था छ ।

 

स्पेनमा कोरोनाबाट निधन भएकाहरुको सम्झनामा बुधबारदेखि १० दिने शोक मनाइँदैछ । यहाँ २७,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनका सबै सरकारी, सार्वजनिक भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

 

महामारीको चपेटामा परेका इटाली, जर्मनी, फ्रान्स र बेलायत समेतका धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । मानिसहरूलाई पसल जान, समुद्र किनारमा डुल्न, पार्कहरुमा दौडिन अनुमति दिइएको छ ।

 

यसैबीच, रूसले कोरोना संक्रमणको चरम सीमा पार गरिसकेको जनाएको छ ।

एजेन्सी

लुम्बनी गुरुयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन Read Previous

लुम्बनी गुरुयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

बजेट भाषण बिहीबार दिउँसो ४ बजे Read Next

बजेट भाषण बिहीबार दिउँसो ४ बजे