काठमाडौं । प्रभु बैंकले वीर अस्पतालमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा ल्याएको छ । प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच यसअघि भएको सम्झौता अनुसार बैंकले महाबौद्धस्थित अस्पताल परिसरमा बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा ल्याएको हो ।
अस्पतालका उपकुलपति प्रा.डा. श्री देवनारायण साहले एक समारोहकाबीच शुक्रबार काउण्टरको उद्घाटन गरेका हुन् । आजबाट सञ्चालनमा यस काउण्टरमा उपचारको लागि आएका सेवाग्राहीहरुले जुनसुकै बेलामा पनि अस्पतालमा बुझाउनु पर्ने शुल्क बुझाउन सक्नेछन् । चौबिसै घण्टा सञ्चालन हुने यस काउण्टरबाट आवश्यकतानुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने भएका हुन् ।
पछिल्लो समय सामाजिक सेवाको भावना अनुसार वाणिज्य बैंकहरुले सामाजिक क्रियाकलापहरुलाई महत्वका साथ सञ्चालन गर्दै आएका छन् । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्र उल्लेख्य योगदानका लागि आफ्नो सेवा विस्तार गर्दै जाने बैंकले जनाएको छ ।