काठमाडौंमा बन्ने ४ नयाँ सहरको निर्णय जेठ २५ गते, कुन बन्ला पहिला
गिता भुजेल
प्रकाशित : 4:15 pm, मंगलबार, जेठ १३, २०७७

काठमाडौं । उपत्यकामा बन्ने चार नयाँ सहर (स्मार्ट सिटी) निर्माणको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । छलफलको चरणमा रहेको नयाँ सहरको डीपीआर आगामी जेठ २५ गते भौतिक विकास समितिबाट पास भएर मन्त्रिपरिषदमा पेस हुने छ ।

 

मन्त्रिपरिषदबाट पास भएपछि निर्माणका लागि ठेक्का प्रकृयाको काम आगामी आर्थिक वर्षको सुरुवातदेखि गर्ने लक्ष्य रहेको छ ।

 

उपत्यका विकास प्राधिकरणका अनुसार एकै पटक ४ वटै नयाँ सहर निर्माण सम्भव छैन । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाका कारण विदेशी लगानी पर्खिन पनि नसकिने प्राधिकरणका सहरी योजनाका प्रमुख भागवत खोखालीले बताए ।

 

नयाँ सहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ ।

 

उनका अनुसार हाल १ वा २ वटा नयाँ सहर निर्माणको काम सुरु गर्न सकिने अवस्था छ । केही नगरी बस्नु भन्दा एउटा आयोजना मात्र भए पनि काम गर्यो भने केही उपलब्धी हुने भन्दै उनले आगामी नयाँ आर्थिक वर्षबाट कुनै एक नयाँ सहरको निर्माणको काम सुरु हुने छ ।

 

उनले मन्त्रालयले कुन ठाउँको नयाँ सहर पहिलो चरणमा निर्माण गर्ने भन्ने टुंगो लगाउछ, त्यही अनुसार काम गरिने बताए ।‘तत्काल सबै होइन, एउटा मात्र भए पनि नयाँ सहर आफ्नै लगानीमा बनाउन सुरु गरौँ भनेका छौं । कुन ठाउँको नयाँ सहर पहिला बनाउने त्यो आउदो २५ गतेको छलफलबाट थाहा हुन्छ,’ खोखालीले चाणक्य पोष्टसँग भने ।

 

हालका लागि टोखा र सूर्यविनायकमा रहेको नयाँ सहरलाई निर्माण गर्न सम्भव रहेको उनले बताए । यसमा अन्यभन्दा कम खर्च लाग्ने भन्दै उनले यी मध्ये एउटामा सहमति हुन सक्ने जानकारी दिए ।

 

उनले आन्तरिक रकमबाट वा ऋण लिएर भए पनि एउटा नयाँ सहर निर्माणको सुरुवात गर्नु अहिलेको आवश्यकता रहेको बताए । एउटा मात्र नयाँ सहर निर्माण सुरु गर्न वार्षिक ३ देखि ४ अर्ब लगानी लाग्ने उनको भनाइ छ ।

 

एउटा नयाँ सहरको निर्माण पूरा गर्नका लागि २० देखि ३० अर्ब रुपैयाँ लागत लाग्ने उनको भनाई छ । ५ वर्षको योजना अन्तर्गत नयाँ सहर बनाउने लक्ष्य राखेर काम गर्न लागिएको हो । यस्तै नयाँ सहर निर्माणले विदेशबाट फर्किएर आएका र रोजगारी गुमाएकालाई रोजगारी सृजना गर्ने उनको दाबी छ । नयाँ सहर निर्माणमा झण्डै १५ सय जनालाई रोजगार दिइने उनले बताए ।

 

‘यसबाट देश विकाससँगै रोजगार सृजना हुन्छ, हाम्रो आयोजना ५ वर्ष भएकोले रोजगार त्यो अवधिसम्म सुनिश्चित हुन्छ,’ खोखालीले भने ।उनले निर्माण सुरु भएपछि उत्पातन मुलक क्षेत्रमा समेत रोजगार सृजना हुने बताए ।

 

नयाँ सहरमा के–के बन्ने ?

 

प्राधिकरणले १ लाख रोपनीको एउटा र १० हजार रोपनीका ३ वटा गरी चार वटा नयाँ सडक बनाउने योजना बनाएको छ ।नयाँ सहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुटाइने छ ।

 

ल्याण्ड पुलिङमा लिएर जग्गाको विकास गर्ने र उनीहरुलाई उपयोगका लागि फेरी फिर्ता दिइने छ भने त्यसमा मुआब्जा दिइने छैन ।

 

हरेक ठाउँमा ४ आनाको प्लटिङ गरेर घडेरी तयार गरिने छ । नयाँ सहरमा न्यूनतम ६ मिटरदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् । वर्षमा खोला बाढीआउदा पानी पोखरीमा जाने तरिकाले डीपीआर डिजाइन गरिएको छ ।

 

नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, प्रहरी चौकी, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

 

हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । नयाँ सहरको डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको डीपीआरका लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । अन्य १० हजार रोपनीका नयाँ सहरको डीपीआर निर्माणका लागि २/२ करोड रुपैयाँ खर्च भएको छ ।

 

सम्भावित नयाँ सहर

 

भक्तपुर सूर्यविनायकमा पर्ने १० हजार रोपनी नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने भएको छ । साथै टोखाको १० हजार रोपनी नयाँ सहर पनि पहिलो चराणको सम्भावित नयाँ सहरको रुपमा पर्न गएको छ । समितिबाट यी २ वटा मध्ये एउटा नयाँ सहरलाई निर्माण गर्ने विषयले २५ गते निशकर्ष पाउने खोखालीले बताएका छन् ।

 

ललितपुरमा बन्ने नयाँ सहरमा भने अझै केही समस्या देखिएकाले यसलाई तत्काल सुरु गर्न नसकिने उनले बताए । १ लाख रोपनी नयाँ सहरमा बजेट धेरै आवश्यक पर्ने भएकाले सरकारले आफ्नै लगानीमा तत्काल बनाउन सकिने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

 

यस्तै उपत्यकामा बन्ने नयाँ सहर निर्माणका लागि केही चिनियाँ निर्माण कम्पनीहरुले समेत चासो देखाएका थिए । चिनियाँ कम्पनीले १ लाख रोपनीको इसान नयाँ सहर, सूर्यविनायकको १० हजार रोपनीमा बन्ने नयाँ सहर निर्माणमा लगानी गर्न चासो देखाएका थिए ।

 

सरकारले लगानीको वातावरण राम्रो बनाए उनीहरुले नयाँ सहर निर्माणमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए । हाल कोरोना भाइरसका कारण लगानी भित्राउन नसकिने देखिएको छ ।