मार्जिन कर्जाको सीमा ८०% बनाउन माग, यस्ता छन् सेयर बजार सुधारका लागि २० बुँदे सुझाव
चाणक्य पोष्ट
प्रकाशित : 9:41 am, शुक्रबार, जेठ ९, २०७७

काठमाडौं । सेयर बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् ।

 

आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले आफ्ना २० बुँदा पेश गरेका हुन् ।

 

सुझाव पेश गर्नेमा लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, सेयर लगानीकर्ता दवाब समूह र नेपाल पूँजीबजार संघ रहेका छन् ।

 

सेयर बजारलाई बिना सुधार यथास्थितिमा खोल्दा पूँजीबजारमा करिब १७ लाख डिम्याटमा आबद्ध लगानीकर्ताको सम्पत्ति ठूलो मात्रामा गुम्नसक्ने सुझावमा जानाकारी दिईएको छ ।

 

साथै हाल सेयर मार्जिन कर्जाको सीमा ६५ प्रतिशतलाई बढाएर ८० प्रतिशत कायम गर्नुपर्ने र वेटेड एभरेज गणना गरिने प्रक्रिया १८० दिनको सट्टामा १२० दिन कायम गरिनुपर्ने माग समेत गरिएको छ ।

 

म्युचुअल फण्डहरूले सेयर बजारमा लगानी गर्नुपर्ने सीमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिइँदै आएको आरक्षण वापत छुट्याइएको सेयरमा कम्तीमा ३ वर्षको लकिंङ पिरियड राखिनुपर्ने पनि लगानीकर्ताको माग छ ।

 

डिम्याट र बैंक इन्ट्रिगेशन सम्बन्धी कार्य गरिनुपर्ने, सेयर बजारमा नेपाल सरकारले यो भन्दा अगाडि नै निर्णय गरिसकिएको ठूलो मात्रामा लगानी गर्नसक्ने संस्था नागरिक लगानीकोषलाई यथाशीघ्र बजारमा प्रवेश गराउनुपर्ने लगायतका सुझाव समेत पेश गरेका छन् ।

 

यस्ता छन् २० बुँदे सुझाव

 

१. नेपालको पूँजी बजारलाई अत्याधुनिक प्रविधि मैत्रि बनाउन पुर्ण स्वचालित अनलाइन प्रणालीको तत्काल कार्यान्वयन गर्ने ।

 

२. नेपाल धितोपत्र बोर्ड द्वारा लकडाउन अवधिमा जारी गरिएको धितोपत्र सन्चालन सम्वन्धि कतिपय बुँदाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन वाधा भएकोले त्यस्ता बुँदाहरूलाई सहज हुनेगरी परिमार्जन गरिनु पर्ने ।

 

३. डिम्याट र बैंक इन्ट्रिगेशन सम्बन्धी कार्य गरिनुपर्ने ।

 

४. सेयर बजारमा नेपाल सरकारले यो भन्दा अगाडिनै निर्णय गरि सकिएको ठूलो मात्रामा लगानी गर्न सक्ने संस्था नागरिक लगानि कोष लाई यथाशीघ्र बजारमा प्रवेश गराउनु पर्ने ।

 

५. हाल सेयर मार्जिन कर्जामा उपभोग गरिँदै आएको ६५% को सीमालाई बढाई ८०% कायम गर्ने र वेटेड एभरेज गणना गरिने प्रकृया १८० दिनको सट्टामा १२० दिन कायम गरिनु पर्ने ।

 

६. सेयर कर्जा लिएका ऋणिहरूको कर्जाको म्याद समाप्त भएको भए स्वतः नवीकरण गरी मार्जिन कल नगर्ने व्यवस्था गर्ने ।

 

७. हाल प्रचलनमा रहेको क्रस होल्ड नहुने गरी सेयर खरिद गर्न पाउने बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूको लगानी गर्न पाउने सीमा शतप्रतिशत वृद्धि गरिनु पर्ने ।

 

८. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जाको प्राथमिक पूँजीकोषको सीमा शतप्रतिशत वृद्धि गरिनुपर्ने ।

 

९. म्युचुअल फण्डहरूले सेयर बजारमा लगानी गर्नुपर्ने सीमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिइँदै आएको आरक्षण वापत छुट्याइएको सेयरमा कम्तीमा ३ वर्षको लकिङ पिरियड राखिनुपर्ने ।

 

१०. पूँजी बजारको विकास र विस्तारका लागि लगानिकर्तासँग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरू मध्ये कार्यान्वयनमा आउन बाँकी बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने ।

 

११. सेयर बजार सम्बन्धमा कुनै पनि निर्णय गर्दा लगानिकर्ताहरूका प्रतिनिधिहरू समेतको प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्ने ।

 

१२. हाल प्रचलनमा रहेको ५% लाभकरलाई अन्तिम लाभकर घोषणा गरिनुपर्ने ।

 

१३. सेयर बजारका लगानिकर्तालाई अल्पकालीन र दीर्घकालीन श्रेणीमा वर्गीकरण गरी दीर्घकालीन लगानिकर्तालाई पूँजीगत लाभकर छुटको व्यवस्था गरिनुपर्ने र संस्थागत लगानिकर्तालाई पूँजीबजारमा थप आकर्षित गर्न संस्थागत पूँजीगत लाभकर समेत कम गर्नुपर्ने ।

 

१४. बैंक तथा वित्तीय संस्था,नागरिक लगानी कोष,कर्मचारी संचय कोष,नेपाल टेलिकम,विमा कम्पनी,पेन्सन फण्ड तथा सामाजिक सुरक्षा कोष लगायतका कम्पनिहरूलाई दोस्रो बजारमा लगानीगर्न आवश्यक र आकर्षक वातावरण बनाइ लगानी गर्न लगाउने ।

 

१५. गैरआवासिय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूले सेयर कारोबार गर्न पाउने विश्वव्यापी प्रचलन अनुरूप नेपालमा पनि २०६५ साल देखि धितोपत्र बोर्ड समेतको कार्यसूचीमा रहेको विषय हालसम्म पनि कार्यान्वयन नभएकोरनगराइएकोले तत्काल कार्यान्वयन गर्नुपर्ने ।

 

१६. हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको करिब ३ हजार शाखाहरू मार्फत शेयर कारोबार गराउने गरी वाणिज्य बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स तत्काल उपलब्ध गराउनुपर्ने ।

 

१७. मर्जर वा एक्विजिसन गर्दा लाग्ने समयको स्पष्ट निर्धारण गर्ने र सकेसम्म शेयर कारोवार नरोक्ने,तर रोक्नै परेमा बढिमा ४५ दिनको सीमा निर्धारण गर्ने ।

 

१८. स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनिहरूले निश्चित सर्त र सीमाको अधिनमा रहि आफ्नो कम्पनिको सेयर आफैले खरिद गर्न पाउने व्यवस्था गर्ने ।

 

१९. हाल विधमान नियममा रहेको वोनसमा लाग्दै आएको दोहोरो पूँजीगत लाभकरको व्यवस्था तुरून्तै खारेज गरिनुपर्ने ।

 

२०. पूँजी बजारमा एकद्वार प्रणाली अवलम्बन गर्दै यो क्षेत्रको विकास र विस्तारको लागि पञ्चवर्षीय योजना सार्वजनिक गरिनुपर्ने ।