पोखरा विमानस्थलको निर्माण सामग्री कलकत्ता र केरुङमै अड्कियो, नेपाली सिमेन्ट प्रयोग गरिँदै
गिता भुजेल
प्रकाशित : 3:51 pm, बुधबार, जेठ ७, २०७७

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५८ प्रतिशत सम्पन्न भएको छ । तोकिएको समयभन्दा ६ महिना अगाडि नै काम सक्ने गरी अहिले लकडाउनमा पनि धमाधम काम भइरहेको छ ।

 

हाल पोखरा अन्राष्ट्रिय विमानस्थलमा डेकोरेसन र फिनिसिङको काम भइरहेको आयोजना प्रमुख बिनेस मुनाकरनीले जानकारी दिए ।

 

उनका अनुसार आयोजनाले चैत्र १० गतेदेखि नै लकडाउनमा बसेर काम गरिरहेको उनले बताए । पछिल्लो समय आयोजनामा २५० जनशक्तिले काम गरिरहेका छन् । लकडाउन अगाडि विमानस्थल निर्माणमा ४५० बढी कामदार खटिएका थिए ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम सम्पन्न भइसकेको छ ।

 

हालसम्म स्टकमा रहेका सामग्रीले नै काम भइरहेको उनले बताए । ‘अहिले जति सामान स्टकमा थियो त्यसबाटै काम भइरहेको छ, बाँकी काम सामग्री नआएसम्म सम्भव छैन,’ मुनाकरनीले चाणक्यपोष्टसँग भने ।

 

कतिपय निर्माण सामग्रीहरु चीनको केरुङ नाकामा रोकिएको उनले जानकारी दिए । सिमेन्ट नपुगेपछि नेपालमै उत्पादित सिमेन्ट जसोतसो गरी काम गर्ने कोसिस भइरहेको उनले बताए ।

 

उनका अनुसार हाल नेपाली सिमेन्टको परीक्षण भइरहेको छ । सो परीक्षण पछि निर्माणका लागि सिमेन्ट गुणस्तरीय भएमा मात्र प्रयोगमा ल्याइने उनले बताए । यसअघि निर्माणका लागि सिमेन्ट भारतबाट ल्याइँदै आएको थियो ।

 

उनले धेरै सामानहरु भारतको कलकताबाट आउने र चीनको केरुङमा समेत निर्माण सामग्रीहरु धेरै रोकिएकाले ६ महिना अघि सकाउन गाह्रो हुने बताए ।

 

विशेष गरी इलेक्ट्रीक सामग्रीहरु आउन बाँकी रहेकाले त्यसको काम नाका नखुले सम्म सम्पन्न नहुने उनले बताए । उनले लक डाउन जति धेरै भयो त्यतिनै निर्माणको काममा ढिलाइ हुने बताए ।

 

लक डाउन खुलेपछि पनि सामग्रीहरु आयात गर्न २ महिनाका हाराहारी समय लाग्ने उनले बताए । सामान आएको ५ महिनाभित्र निर्माण सम्पन्न हुने उनको दाबी छ । अझै १४ देखि १५ महिनाका हाराहारीमा निर्माणको म्याद बाँकी रहेकाले अन्तिम मितिसम्म काम सकिने उनले बताए ।

 

हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षभित्र ८७ प्रतिशत खर्च गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको छ । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि सुरु भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेको छ ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वाएर मिटरमा बन्ने छ । ८ हजार स्क्वाएर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वाएर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वाएर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा रहने छ ।