काठमाडौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । वाणिज्य बैंकहरुबीचमा मर्जरको हल्लाले बजार तातिरहेको बेला माछापुच्छ्रेले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा आकर्षक सुधार गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष खुद नाफा ४५ करोड ३८ लाख (३६.३२५%) ले वृद्धि गरी १ अर्ब ७० करोड ३५ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो वर्षमा १ अर्ब २४ करोड ९६ लाद ८८ हजार रुपैयाँ नाफा गरेको थियो ।
बैंकको रिजर्भ कोषमा भने ०.७५५ प्रतिशतले गिरावट आएको छ । बैंकको रिजर्भ कोषमा १ अर्ब ४५ करोड १५ लाख ३६ हजार रहेको छ भने अघिल्लो वर्ष १ अर्ब ४६ करोड २५ लाख ३७ हजार रहेको थियो ।
यस्तै, बैंकले संचित नाफामा १११.१७५ प्रतिशतले बढाएको छ भने सञ्चालन नाफामा ३३.९५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले प्रतिसेयर आम्दानी पनि ५.३४ रुपैयाँले बढाएर २१.१५ रुपैयाँ पुर्याएको छ ।
