विश्व बैंकद्वारा अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा, १०० देश लाभान्वित हुने
चाणक्य पोष्ट
प्रकाशित : 11:53 am, बुधबार, जेठ ७, २०७७

विश्व बैंक समूहले कोरोना महामारीबाट आर्थिक क्षति बेहोरिरहेका १०० देशहरुलाई लक्षित गर्दै अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ ।

 

विश्व बैंकले कुल १६० बिलियन अमेरिकी डलर (११९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ ।

 

विश्व बैंकले यो रकम विश्वका १०० विकासशील देशहरुलाई अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा उपलब्ध गराउने छ । जसबाट विश्वका कुल जनसंख्याको करीब ७० प्रतिशत मानिस लाभिन्वित हुने विश्व बैंकले बताएको छ ।

 

संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो र छिटो आएको सहयता हो । मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ ।

 

सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र क्रमशः तोकिएका मुलुकहरुले प्राप्त गर्ने भएका छन् ।

 

यो सहायताले मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ ।

 

विश्व बैंकका अनुसार यस्तो सहायता ३९ अफ्रिकी मुलुकले पाउने छन् । यसबाहेक द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, चाड, हाइटी, नाइजरजस्ता मुलुक पनि समावेश छन् । विश्व बैंकले यस्तो सहायता ग्रुप मातहतका अन्तर्राष्ट्रिय वित्त निगमलगायत विभिन्न संस्थाबाट परिचालित गर्ने भएको छ ।
-एजेन्सी