जापानको अर्थतन्त्र मन्दीतर्फ उन्मुख, अमेरिकामा मात्रै ३ करोड ६० लाख बेरोजगार

विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख देखिएको छ। पहिलो त्रैमासिक अवधिमा कोरोना भाइरसका कारण पेशा व्यवसाय तथा सेवाहरु कटौती हुँदा अर्थव्यवस्था मन्दीतर्फ उन्मुख भएको हो।

 

जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । यो तथ्यांकले जापानको अर्थतन्त्र सन् २०१५ पछिकै कमजोर अवस्थामा पुगेको जनाउँछ।

 

जापानको व्यापार चीन र संयुक्त राज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो ।

 

 

कोरोना महामारीका कारण विश्वका अन्य देशहरुको अर्थव्यवस्था पनि बिग्रदै गएको छ। यस्तोमा विश्वका अन्य देशहरु पनि आफ्नो अर्थतन्त्रलाई जोगाउन कोशिश गरिरहेका छन्।

 

अमेरिका र युरोपका नेताहरुले आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् । कोरोना भाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि उनीहरुले लकडाउन सहज बनाउन प्रयास गरिरहेका छन्।

चीनमा कोरोना भाइरसको खासै समस्या नदेखिएका बेइजिङसमेतका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइने भएको छ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् ।

 

निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बार र बीचहरु खुला गर्ने बताएका छन्।इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिएका हुन्।

 

प्रधानमन्त्री कोन्टेले ‘हामीले यो जोखिमको सामना गर्नु परिरहेको छ । हामीलाई यसलाई स्वीकार्नै पर्दछ, अन्यथा हामीले कहिल्यै पनि जनजीवन खुला गर्न सक्दैनौं,’ भनेका छन्।

 

विश्वका अरु मुलुकका सरकारहरुसहित अमेरिकाका धेरै राज्यले कोरोना भाइरसका कारण जारी लकडाउनमा सहजीकरण गर्न र जनजीवन खुला गर्न संघर्षरत छन् । अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँ, बिचहरुमा मानिसको ठूलो भिडभाड देखिएका छन् ।

 

उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने बताएका थिए। ‘विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न,’ प्रधानमन्त्री जोन्सनले भने।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताएका छन्। ‘हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन्,’ उनले भनेका छन्।

 

राष्ट्रपति ट्रम्पका वरिष्ठ आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोना भाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताए।

 

अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् । व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् ।

 

राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झण्डै ४८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख १५ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।

 

अमेरिकामा मात्र ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।रासस/एपी

ठेकेदारलाई उल्टो पैसा तिर्नु पर्ने अवस्था आउने भएपछि भेरी बबई डाइभर्सनमा २ अर्बको ठेक्का रद्द Read Previous

ठेकेदारलाई उल्टो पैसा तिर्नु पर्ने अवस्था आउने भएपछि भेरी बबई डाइभर्सनमा २ अर्बको ठेक्का रद्द

एकैदिन थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो Read Next

एकैदिन थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो