लकडाउनमा मेवा किन्नेको भीड, खोलाको बगरबाटै बिक्यो ५० क्विन्टल

मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ ।

 

एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागाईँले लकडाउनको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै विक्री भइसकेको जानकारी दिए ।

 

उनका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन् । ‘मागअनुसार दिन सकेका छैनौँ,’ उनले भने, ‘खाँदा रसिलो र मीठो छ । सायद सबै बजार ठप्प हुँदा मान्छेहरु फलफूल खोज्दै यही आइपुग्छन् ।’

 

गतवर्ष नन्दा खोलाको बगरमा रहेको १८ बिघा जमिन खरिद गरी मेवा, कागती, खरबुजालगायत अग्र्यानिक खेती लगाएको छ । जहाँ झण्डै पाँच बिघा जमिनमा मेवाखेती छ । बोटमै मेवा प्रतिकेजी ५० रुपैयाँले विक्री भइरहेको उनले जानकारी दिए।

 

धुलाबारी मोडबाट करिब एक किलोमिटर उत्तरको नन्दा खोलाको बगरमा कागती, मेवा, खरबुजालगायत खेती गरिएको छ । रु एक करोडको लगानीमा पाँचजना युवा मिलेर सञ्चालन गरेको फार्ममा माछासमेत पालिएको छ ।

 

स्थानीय किसान डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा, कागतीको बिरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको उनको भनाइ छ ।

 

केन्द्रमा ७ हजार मेवा, ३ हजार कागती, तीनवटा ठूला पोखरीमा विभिन्न जातका चार लाख माछाका भुरा पालिएको उद्योगका अध्यक्ष मोहनचन्द्र भट्टले जानकारी दिए ।

 

दुईवटा पोखरी २/२ कठ्ठाको र एउटा पोखरी ढेड विगाह क्षेत्रफलमा लगाईएको छ । पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रौँउ, कत्ला, मागुर, नैनी, लगायत जातका माछा रहेका छन् ।रासस

एनआईसी एशियाले ऋणीलाई जेष्ठमा पनि ब्याजमा थप १० प्रतिशत छुट दिने Read Previous

एनआईसी एशियाले ऋणीलाई जेष्ठमा पनि ब्याजमा थप १० प्रतिशत छुट दिने

'स्टार्टअप बिजनेश' र 'इनोभेशन' गर्नेलाई सरकारले ५ लाख अनुदान दिने Read Next

'स्टार्टअप बिजनेश' र 'इनोभेशन' गर्नेलाई सरकारले ५ लाख अनुदान दिने