काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गर्नका लागि केही सुझावहरु दिएको छ । बोर्डले लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन रुपमा छुट्याउन र करका केही प्रावधान परिर्वतन गर्न अर्थमन्त्रालयलाई सुझाव दिएको हो ।
‘एक वर्षभन्दा बढी राखेर सेयर बेच्नेलाई दीर्घकालीन र एक वर्षभन्दा कम समयमा सेयर बेच्नेलाई अल्पकालीन सेयर लगानीकर्ता मान्न हामीले अर्थमन्त्रालयलाई सुझाव दिएका छौं’, बोर्ड स्रोतले भन्यो ।
कोरोना भाइरसको कारण सेयर बजार पनि लामो समयसम्म लकडाउनमा परेको र त्यसको नकारात्मक प्रभाव सेयर बजारमा पर्ने हुनाले आगामी बजेटमा सरकारको तर्फबाट सेयर बजारलाई मद्दत पुग्ने नीतिगत सहयोगको अपेक्षा लगानीकर्ताले गरेका छन् ।
बोर्डले दीर्घकालीन लगानीकर्तालाई १ प्रतिशत र अल्पकालीन लगानीकर्ता वा ट्रेडरलाई ५ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न सुझाव दिएको छ । यसैगरी सुझावमा नगद र बोनस सेयरमा ५ प्रतिशत कर तिर्नुपर्ने बाध्यता हटाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
लगानीकर्ताले तिर्दै आएको दोहोरो कर प्रणाली हटाउन पनि माग गरिएको छ । म्युचुअल फण्डमा गरेको लगानीमा केही कर घटाउने विषय पनि समावेश भएको बताइएको छ ।