लकडाउन पछि किन ह्वात्तै घट्यो तरकारीको भाउ, यस्ता छन् कारण

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य ओरालो झर्ने क्रममा छ । लकडाउन अघिसम्म महँगो रहेको तरकारीको भाउ त्यसयता घट्न थालेको हो ।

 

कालिमाटी फलफूल तथा तरकारी बजारमा काउली, प्याज, गोलभेँडा, बन्दा, लौका, गाजर, आलु, मुला, काँक्रो लगायत अधिकांश तरकारीको भाउ घटेको छ ।

 

कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रशाद घिमिरेका अनुसार उपत्यकामा तरकारी खपत कम हुन थालेपछि तरकारीको मूल्य घट्न थालेको हो । देशभर लक डाउनपछि होटल, रेष्टुरेन्ट तथा विभिन्न कार्यालय समेत बन्द रहेपछि तरकारीको खपत घट्दा मागमा समेत कमी आई भाउ घटेको हो ।

 

लाखौँ मानिसहरु आफ्नै गाउँ फर्केपछि उपत्यकामा तरकारीको खपत निकै कम देखिएको छ । उपत्यका बाहिर उत्पादन भएको तरकारी लगडाउनका कारणले खेतबारीमै कुहिने अवस्था सृजना भएपछि बजारमा तरकारीको मूल्य घट्न गएको छ उनले बताए ।

 

‘तरकारी आइरहेको छ, सधैं एकैदिनमा विक्री हुने तरकारी विक्री गर्न ३/ दिन कुर्नुपर्छ, यसले गर्दा तरकारी स्टोरमै कुहिने अवस्था भएकोले धेरै न्यून मूल्यमा तरकारी विक्री भइ रहेकोछ,’ घिमिरेले भने ।

 

उनका अनुसार कालिमाटीको होलसेलमा तरकारीको मूल्य धेरै न्यून भए पनि खुद्रा बजारमा भने त्यस अनुसार मूल्य कम हुन सकेको छैन ।

 

कालिमाटी बजारमा प्याजको मूल्य प्रतिकेजी २९ रुपैयाँ प्रतिकेजी रहेको छ । बाहिर खुद्रा बजारमा ४० देखि ५० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

 

गोलभेँडा ३० देखि ३३ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ । आलु २८ देखि ३० रुपैया प्रतिकेजी विक्री भइरहेको छ । गाजर १५ रुपैयाँ देखि २८ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

 

कालिमाटी बजारमा काउली १५ रुपैयाँदेखि ३० रुपैयाँ प्रतिकेजीसम्मा विक्री भइरहेको छ । बन्दा १० रुपैयाँ प्रतिकेजीसम्ममा विक्री भइरहेको छ । लौका २० देखि २५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

 

अहिले प्रायजसो तरकारीको खुद्रा मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकेजी रहेको पाइन्छ । यसले खुद्रा व्यवसायीहरुले तरकारीको मूल्यमा धेरैभन्दा धेरै फाइदा लिइरहेको देखाउछ ।

 

मुला प्रतिकेजी १० देखि १५ रुपैयाँ रहेको छ । फर्सी, बोडी, भन्टा, घिउसिमी, लगायतका तरकारीहरु २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाएको छ ।

एभरेष्ट बैंक कर्मचारी परिवारद्वारा विपन्नलाई राहत वितरण Read Previous

एभरेष्ट बैंक कर्मचारी परिवारद्वारा विपन्नलाई राहत वितरण

चालू आवमा लक्ष्यको आधा मात्रै सडक र पुल निर्माण सकिने Read Next

चालू आवमा लक्ष्यको आधा मात्रै सडक र पुल निर्माण सकिने