काठमाडौं । लकडाउन अवधिभर तरकारी आयात गर्नु पर्ने अवस्था नरहे पनि भारताबाट भने आयात भइरहेको छ ।
लकडाउनका कारण होटल, रेष्टुरेन्ट लगायत तरकारी खपत हुने ठाउँ बन्द रहेकाले मागमा कमी आएको र नेपालमै उत्पादित तरकारीले उचित बजार पाउन नसकिरहेको बेला तरकारी आयात गर्नुपर्ने आवश्यकता नरहेको व्यवसायीहरुले बताएका छन् ।
नेपाली किसानले उत्पादन गरेका हजारौं मेट्रिकटन तरकारी सरकारले सहज ढुवानी तथा बजारको व्यवस्थापन गर्न नसक्दा यति बेला गाइवस्तुलाई खुवाउनुपर्ने, बारीमै कुहिन दिनु पर्ने अवस्था आएको छ । जसले गर्दा कृषकले करोडौं घाटा बेहोर्नु परेको छ । तर, यस्तो अवस्थामा पनि सरकारले भने तरकारी आयातमा कुनै रोक लगाएको छैन ।
नेपालमै उत्पादित तरकारी समेत खेर गइरहेको र बजारमा तरकारीको माग समेत घटेकाले भारतबाट तरकारी आयात गर्नु पर्ने अवस्था नरहेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
नेपाली किसानले उत्पादन गरेका हजारौं मेट्रिकटन तरकारी सहज ढुवानीको व्यवस्था नहुँदा यति बेला बारीमै कुहिएका छन् । कृषकले करोडौं घाटा व्यहोरी रहनु परेको छ । तर, यस्तो अवस्थामा पनि सरकारले भने तरकारी आयातमा कुनै रोक लगाएको छैन ।
उनका अनुसार पछिल्लो समय उपत्यकामा तरकारीको उपभोग कम भइरहेको छ । यसले गर्दा आपूर्ति भए जति तरकारी खपत हुन सकिरहेको छैन । नेपालमै उत्पादिन तरकारी विक्री हुन नसकेको बेला आयात गर्दा आन्तरिक उत्पादनले बजार नपाउने उनले बताए ।
नेपालमा काउली र प्याज ठूलो मात्रामा भारतबाट आयात हुने गरेको छ । प्याज र काउली भारतबाट ९५ प्रतिशत आयात हुने गरेको छ भने नेपालमा ५ प्रतिशतका हाराहारीमा मात्र उत्पादन हुने गरेको छ । त्यस बाहेकका सबै तरकारी नेपालमै उत्पादन हुने गरेको छ ।
भारतमा कोरोना भाइरस फैलिरहेका कारणले भारतबाट आयात बढाउँदा ल्याउने सामग्री र लिएर आउने व्यक्तिमा समेत कोरोना हुन सक्ने र यो नेपालको लागि खतरा हुने उनले बताए ।
‘हामीले तरकारी व्यवसायी सबैलाई भारतीय सामग्री नलिन भनेका छौं । केही मात्रामा आयात भइरहे पनि भारतीय व्यवसायीले मात्र विक्री गरिरहेका छन, नेपाली व्यवसायीहरुले विक्री गरेका छैनन्,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।
भारतीय तरकारी आयात रोक्न मन्त्रालयमा समेत पहल भएको उनले बताए । तर, मन्त्रालयले भने अत्यावश्यक वस्तु आयातमा खुकुलो गरेको हुनाले तरकारीमा मात्र रोक लगाउन नसकिने बताएको छ ।
कालिमाटीमा २० प्रतिशत तरकारी भारतबाट आयातीत हुने गर्दछ । बल्खु लगायतका अन्य तरकारी बजारमा ठूलो मात्रामा भारतीय तरकारी विक्री हुने गरेको छ ।
पछिल्लो समय कालिमाटी बजारमा ६०० टनका हारहारीमा तरकारी आपूर्ति भइरहेको छ । उपत्यकाबाट धेरै मानिसहरु बाहिरिएका कारण विगतको समयमा जसरी खपत हुन नसकेको उनले बताए ।
‘एक दिनमा विक्री हुने तरकारी ३ दिनमा विक्री हुने गरेको छ । हामीले व्यवसायीलाई दिने हो, व्यवसायीले समेत विक्री गर्न सकेका छैनन्,’ घिमिरेले भने । उनका अनुसार पछिल्लो समय कालिमाटी बजार बिहान २ बजेदेखि ८ बजेसम्मका लागि सञ्चालन गरिएको छ ।
लक डाउनको समयमा ४ अर्ब रुपैयाँभन्दा बढीको बराबरको तरकारी आयात भएको छ । यसरी तरकारी आयात वृद्धि हुँदा नेपाली उत्पादित तरकारीले बजार पाउन नसक्ने र खेतबारीमै कुहिने अवस्था सृजना हुने उनले बताए ।