क्वालालम्पुर । मलेसिया सरकारले आफ्नो देशमा रहेका विदेशी नागरिकलाई लकडाउन खुलेको १४ दिनभित्र स्वदेश फर्कने अवसर दिएको ।
मलेसियाको अध्यागमन विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिन भित्र स्वदेश फर्कन अनुमति दिएको छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरूले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्ने विज्ञप्ति बताइएको छ ।
लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नुपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ ।
सबै विदेशी नागरिकले भिसासम्बन्धी सबै काम अनलाइनमार्फत् अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने र अनलाइन अपोइन्टमेन्ट नलिई सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले विज्ञप्तिमा जनाएको छ ।
भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यालयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत् समय लिनु पर्नेछ ।