लकडाउनका बीच बञ्चरेडाँडा ल्यान्डफिलको काम धमाधम, चालू वर्ष भित्रै फोहोर थुपार्न मिल्ने

काठमाडौं । धादिङ् र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा चालू आर्थिक वर्षको भित्रै फोहोर व्यवस्थापन कार्य थालनी गरिने भएको छ । सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले यो आर्थिक वर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

 

उनले ठेक्केदारलाई सो अनुसार काम गर्न निर्देशन दिइएको बताए । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले संयुक्त रुपमा काम गरिरहेको छ । लकडाउनका समयमा निर्माण कार्यलाई सुचारु गर्न आवश्यक पर्ने सामग्रीको उपलब्धता र ढुवानी जस्ता काममा परेको अप्ठ्यारोलाई सहज गर्न मन्त्रालय र महानगरले सहजीकरण गर्ने भएको छ ।

 

बुधबार मन्त्रालयका सचिव अधिकारी र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहितको टोली बञ्चरेडाँडा अवलोकनका लागि पुगेको थियो । अवलोकनका क्रममा अहिले फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तरोन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका विषयमा जानकारी लिइएको थियो ।

 

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । सो फोहोर अहिले सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिँदै आइएको छ । साइटको क्षमता सकिएर पोष्ट क्लोजर गर्नुपर्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा बञ्चरे डाँडाको पूर्वाधार निर्माणलाई तीव्र बनाउनुको विकल्प छैन ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन थाल्नु र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्नुलाई विशेष महत्व दिएको बताए । ‘फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस् । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा छौं,’ अर्यालले भने । उनले लक डाउनमा पनि काम निरन्तर भइरहेको बताए ।

 

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा ठेक्का दिइएको छ भने ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।

 

यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ । फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ ।

 

२०६२ साल जेठ २२ गते (सन् २००५ जुन ५)ख विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाउँ विकास समिति (हाल ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो । ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

 

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पुर्याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन ।

 

१ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

 

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

 

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिकटन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिकटन मात्र फोहोर उत्पादन हुने गरेको छ ।

 

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ् जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।

 

यो फोहोर अहिले सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । साइटको क्षमता सकिएर पोष्ट क्लोजर गर्नुपर्ने अवस्थामा पुगेको छ । फोहोरको अन्तिम व्यवस्थापन गर्न बञ्चरेडाँडा नै अन्तिम विकल्पका रुपमा देखिएको छ । यस अवस्थामा बञ्चरे डाँडाको पूर्वाधार निर्माणको कामलाई तीव्र बनाएर फोहोर व्यवस्थापनको गन्तव्य विञ्चरे डाँडा नै हुने महानगरले अपेक्षा गरेको छ ।

लोमसको ५०० एमएलको  ‘ह्यान्ड-एक्स’ स्यानिटाइजर बजारमा Read Previous

लोमसको ५०० एमएलको ‘ह्यान्ड-एक्स’ स्यानिटाइजर बजारमा

लकडाउनमा खाद्य कम्पनीले बेच्यो २० हजार क्विन्टल चामल Read Next

लकडाउनमा खाद्य कम्पनीले बेच्यो २० हजार क्विन्टल चामल