काठमाडौं । कोरोना भाइरसको महामारीको कारण बेलायती अर्थतन्त्रमा ३ शताब्दी यताकै ठूलो गिरावट आउने प्रक्षेपण गरिएको छ ।
बेलायती केन्द्रीय बैंक अफ इंगल्यान्ड (बीओई) ले सन् २०२० मा बेलायतको अर्थतन्त्र १४ प्रतिशत घट्ने प्रक्षेपण गरेको छ ।
बैंक अफ इंगल्याण्डका अनुसार यस वर्ष वेलायती अर्थतन्त्रमा आउने गिरावट ३०० वर्ष यताकै सबैभन्दा ठूलो हुनेछ । सन् २०२० को लागि बीओईले गरेको प्रक्षेपण अनुसार यो आर्थिक गिरावट बेलायतको लागि सन् १७०६ यताकै ठूलो हो ।

यद्यपि बीओईले सन् २०२१ मा भने वेलायतको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको छ । बीओईका अनुसार, यस वर्ष बेलायतको बेरोजगारी पनि बढेर ८ प्रतिशतमा पुग्नेछ । सन् २०२० को दोस्रो त्रैमासमा मात्र बेलायती अर्थतन्त्र अघिल्ल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत घट्नेछ ।
बीओईले बेलायतको ब्याजदर पनि अहिलेसम्मकै सबैभन्दा कम शून्य दशमलव १ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ ।
विश्व बैंक, अन्तर्राष्ट्रि मुद्रा कोष लगायत संस्थाले यस वर्ष कोरोनाका कारण विश्व अर्थतन्त्रमा नै आर्थिक मन्दी आउने बताइसकेका छन् । हालै सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार विश्व महाशक्ति अमेरिका र चीनको अर्थतन्त्रमा ठूलो गिरावट देखिएको छ