नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ ।
चालू आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए ।
लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि ८८ लाख रुपैयाँ र बन्दाबन्दीपछि जम्मा ७ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा कुल १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ ।
उद्योग कलकारखाना प्रभावित बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन् । कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन् ।
जिल्लामा साना, मम्झौला र ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको छ ।
रासस