रोकिए प्रदेशका गौरवका सडक आयोजना

भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।

 

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर-हाट सडकको काम सुरु हुन सकेको छैन । गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

 

बैतडीको सतबाँझदेखि हाटसम्म १ सय किलोमिटर रहेको उक्त सडकको हाल १४ किलोमिटरमा कालोपत्रको लागि अनुमानित रु ५० करोडको बोलपत्र आह्वान गरिएको थियो । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रका लागि २० करोड र र श्रीभावरदेखि ८ किलोमिटर कालोपत्रका लागि २८ करोडको सूचना प्रकाशित भएको थियो ।

 

बहुवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य रहेको भएपनि अब लक्ष्यअनुसार काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए । उनले भने ‘भौतिक पूर्वाधारको कामको प्रगति हुने बेला बन्दाबन्दीले गर्दा सबै ठप्प छ, समयमै काम सक्न गाह्रो छ ।’

 

महाकाली कोरिडोरको काम पनि प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुदैँ टिङ्करसम्म जोड्ने उक्त प्रदेश गौरव योजनाको काम प्रभावित भएको हो ।

 

बन्दाबन्दीले गर्दा सबै काम ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताउनुभयो । दार्चुलामा कार्यालय रहेको यस आयोजनामा दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न छ ठेकेदारलाई जिम्मा दिएर खण्ड खण्डमा काम भइरहेको थियो । व्यवसायी र मजदूर आफ्ना घरतिर लागेकाले काम हुन सक्ने अवस्था छैन ।

 

कञ्चपुरदेखि दार्चुलाको तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

 

काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति भएपनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताए । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँगको सम्झौता यसै वर्ष सकिन लागेकाले अब नयाँ सम्झौताको पनि तयारी हुँदैछ ।

 

उक्त योजनाको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ ।

 

कोरिडोर सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्छ । कार्यालयका अनुसार हालसम्म ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्रयाक खोलिएको छ ।रासस

अब फेसबुकमा एकै पटक ५० जनाले भिडियो कल गर्न सक्ने, आइडी नभएका पनि जोडिन सक्ने Read Previous

अब फेसबुकमा एकै पटक ५० जनाले भिडियो कल गर्न सक्ने, आइडी नभएका पनि जोडिन सक्ने

बिदेशबाट आएर काठमाडौं महानगर क्षेत्रमा बसेका सबैको आरडिटी नेगेटिभ Read Next

बिदेशबाट आएर काठमाडौं महानगर क्षेत्रमा बसेका सबैको आरडिटी नेगेटिभ