काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै बीमा समितिले आइतबारबाट कोरोना बीमालेख विक्री शुरु गरेको छ ।
समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।
१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ ।
यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ।
क-कसले गर्न सक्छन् कोरोना बीमा ?
यो बीमालेख भर्खरै जन्मिएका बालकदेखि ९९ वर्षसम्मको मानिसले गर्न सक्ने छन् । यसका लागि कुनै किसिमको चिकित्सकको परीक्षण आवश्यक पर्ने छैन ।
यस्तो बीमालेख खरिद गर्न चाहने मानिसले जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ । । बीमालेख खरिदकर्ताले बीमालेख वापतको रकम विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्न सक्नेछन् ।
‘यो बीमाले कोरोना महामारीको चपेटामा परेका गरिब मानिसलाई ठूलो राहत पुग्ने छ । सरकारले निःशुल्क उपार गर्ने हुँदा बिरामीलाई खाना र कुरुवालाई खर्च गर्ने रकम बीमा कम्पनीबाट आउने छ,’ बीमा समितिका कार्याकारी निर्देशक राजुरमण पौडेलले भने ।
कसरी पाइन्छ भुक्तानी ?
बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।
यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ । त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।
हालसम्म विश्वरभरका २४ लाख ८ हजार ६ सय ९९ मानिसहरु कोरोना भाइरसबाट संक्रमित रहेको तथ्यांकले देखाएको छ । ती मध्ये १ लाख ६५ हजार ९३ मानिसको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । संक्रमित मध्ये ६ लाख ३८ हजार ९ सय १९ जनामा कोरोना भाइरस निको भएको पाइएको छ ।
अमेरिकामा मात्र ४० हजार भन्दा बढि मानिसहरुको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा ५ सय १९ जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार बढि मानिसहरु कोरोना भाइरस संक्रमित पाइएको छ ।
नेपालमा हालसम्म ८ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण परीक्षण भएको छ । ती मध्ये हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जना उपचारपछि निको भइसकेका छन् ।