काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि देश लकडाउन गरिएको आज २४ दिन बितेको छ । समग्र उद्योगधन्दा, व्यापार, व्यावसाय ठप्प प्रायः छ ।
जनमानसमा खाद्य अभाव लगायतका समस्या सृजना हुन सक्ने त्रास बढ्दै गएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले भने अन्न बालीमा अझै अभाव सृजना नहुने बताउँदै आएको छ ।
लकडाउनका बाबजूद कृषकले उत्पादन गरेका तरकारी, माछा, कुखुुरा लगायत कृषिजन्य उपज विक्री गर्न नपाएर त्यत्तिकै खेर गइरहेको छ । लक डाउनका कारण बाली, तरकारी तथा फलफूलमा धेरै नोक्सानी नहुने भए पनि यसले पशुपालनको क्षेत्रमा ठूलो नोक्सानी गर्ने कृषि मन्त्रालयका वरिष्ठ कृषि तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।
उनका अनुसार तरकारी तथा बाली चाँडो प्रयोगमा आउने भएकाले धेरै नोक्सानी हुँदैन । बालीमा व्यापारीहरुलाई धेरै असर नपरेपनि किसानलाई भने असर परिरहेको छ ।
उनले नेपालमा ५ लाख मेट्रिकटन चामल आयात हुने भएता पनि बाँकी ३५ लाख मेट्रिकटन चामल नेपालमै उत्पादन हुने गरेको बताए । नेपालमा चामल मात्र नभई, गँहु, मकै, कोदो सबै प्रयोग हुने हुँदा भोकमारीकै अवस्था सृजना नहुने उनले दाबी गरे ।
‘अहिले बालीमा धेरै समस्या आउँदैन, किसानहरुलाई केही मार परेको छ तर, अहिले धेरै पशुपालनमा धेरै असर परेको र यसले कृषि क्षेत्रलाई ठूलो धक्का दिन सक्छ,’ रेग्मीले चाणक्य पोष्टसँग भने ।
हाल कृषि क्षेत्रमा धेरै नोक्सानी पोल्ट्री फर्ममा देखिएको उनले बताए । उनका अनुसार कुखुरामा मात्र नभई, माछा पालनमा समेत यसले असर पारेको छ । साथै दुग्ध क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ ।
सरकारले कृषि तथा पशुपालन क्षेत्रमा असर रोक्न तथा त्यसको क्षतिपूर्ति व्यवस्थापनका लागि क्याबिनेटमा केही प्रस्ताव पेश गरेको छ । उनले यस विषयमा निर्णय लिन सरकारले ढिलाइ गरिसकेको भए पनि सक्दो चाँडो सही निर्णय लिनु पर्ने बताए ।

उनले माछापालन गर्नेका लागि पिना भारतबाट आयात हुन्छ । र कुखुरालाई खुवाइने दाना समेत भारतबाट नै आयात गरिनु पर्ने बाध्यता रहेको बताए । अत्यावश्यक वस्तु आयात गर्न पाउने व्यवस्था रहे पनि भारतमा समेत लक डाउन हुँदा कलकता लगायतका स्थानहरुबाट आयात गर्ने सामानहरु आयातमा समस्या सृजना भएको उनले बताए ।
हाल कृर्षि तथा पशुपन्छि विकास क्षेत्रका निम्ति केही प्रस्ताव क्याविनेटमा राखिए पनि त्यो पास नभएसम्म कार्यान्वयनमा ल्याउन नसकिने उनले बताए । उनले कृषि तथा पशुपालन क्षेत्रलाई २ महिना बचाउन सके यसलाई जोगाउन सक्ने बताए ।
पशुपालन क्षेत्रलाई बचाउन सरकारले छिट्टै कदम चाल्नु पर्ने
रेग्मीले सरकारले अब कृषि तथा पुशपालनको क्षेत्रमा केही सही कदम चाल्नु पर्ने बताए । सही निर्णय लिन केही ढिलो भइसके पनि अझै केही नबितेको उनले बताए । अझै पनि बजेट वा केही निर्णय गर्नलाई क्याबिनेट मार्फत जाने पर्ने हुँदा यसले असजता सृजना गरेको उनले बताए ।
उनले यसमा सरकारले सक्दो चाँडो निर्णय गर्नु पर्ने हुँदा क्याबिनेट र अर्थ मन्त्रालय हुँदै जाँदा निर्णय र कार्यान्वयनमा ढिलाइ भएको बताए ।
उनले अब सरकारले कृषि र पुशपालनमा बढी खर्च गर्न पर्ने बताए । उनले लक डाउनका कारण खर्च गर्न राखिएको रकम समेत फ्रिज हुन सक्ने भन्दै सरकारले अब सही ठाउँमा खर्च गर्नु पर्ने बताए ।
आउँदो समयमा अबौँ रकम खर्च नहुने उनले बताए । जसका कारण प्रदेश र केन्द्रीय सरकारले अब खर्च बढाउनु पर्ने देखिन्छ । अब सरकारले आफै खाद्य तथा अन्न, अण्डा लगायतका सामग्री किनेर बजेटको सदुपयोग गर्नु पर्ने देखिन्छ । सरकारले आफै किसानबाट सामग्रीहरु किने किसानले सहि रकम पाउने र उपभोक्तासम्म सामान उचित मूल्यमा पुग्ने रेग्मीले बताए ।