काठमाडौं । एनआइसी एशिया बैंकले कोरोनाबाट सृजित असहज परिस्थितिमा आफ्ना ऋणीलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
यस अन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गरेका सम्पूर्ण ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाका साथै चालू पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जामा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन ।
यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ नै उपलब्ध हुनेहुँदा सम्पूर्ण ग्राहकलाई यस मौकाको सदुपयोग गरी अधिकतम लाभ प्राप्त गर्नुहुन बैंकले अनुरोध समेत गरेको छ ।
बैंकले हाल देशभरका मुलुकभर ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।