कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् ।
उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा कामगर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने यस प्रतिवेदनले देखाएको छ । तर यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गर्न सकिन्छ । तर अहिले नै कामविहीन भएको यो जनशक्तिले आगामी दिनहरुलाई पनि प्रभाव भने पार्ने देखिन्छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण शुक्रबार नै गरेको छ । यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको उसले कोरोनाको कहर शुरु भएपछि पुनः यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको कहर चौतर्फी देखिएपछि आइएमएफले आफ्नो अघिल्लो प्रक्षेपण उल्ट्याएर यो नयाँ जारी गरेको हो ।
आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताएका छन् । ‘कोरोनाले सन् २०२० मा सङ्कट ल्याउनेछ भन्दै यदि अहिलेकै अवस्था लामो समय नभई सामान्य हुँदै गएमा सन् २०२१ मा विश्वको आर्थिक अवस्था सामान्य रुपमा सुधारतर्फ जानेछ उनको भनाइ छ ।
यसअघि मार्चको अन्तिमतिर मुद्रा कोषले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको घोषणा गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको घोषणा उसले उतिबेलै गरेको हो ।
निर्देशक जर्जिभाले यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको बताएका थिए । विश्वको अर्थतन्त्र ठूलो सङ्कटतर्फ अघि बढेको आँकलन गर्दै उनले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोषहरु खडा गर्नुपर्ने सुझाव दिएका थिए ।
भाइरसको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विश्वका कैयौँ देशले लकडाउनको घोषणा गरेबाट अर्थतन्त्र धर्मराएको कोषले आँकलन गरेको थियो । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा रहेको र अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी उनले शुक्रबार अवस्था झनै बिग्रिएको आँकलन गरेका छन् । यी आर्थिक आँकलनहरु महामारी केन्द्रित नै हुन् ।
-एजेन्सी