कोरियामा रहेका नेपालीले पठाए ४ हजार थान कोरोना टेस्ट कीट

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले ४ हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ ।

 

एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका ४ हजार किट र ५०० थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ ।

 

कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर ती सामग्री नेपाल पठाइएको हो । स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आज अपराह्न नेपाल आइपुग्ने बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियन्ताको सहकार्यमा सहयोग सङ्कलन अभियान सञ्चालन भएको थियो ।

 

अभियान शुरु गरेको चार दिनमै १ करोड ४० लाख ७९ हजार ७७५ सङ्कलन भएको एनआरएन दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।

 

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीलाई एनआरएनएले आग्रह गरेको थियो ।

 

कोरियामा उत्पादित कीटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिने बताइन्छ । यसको मूल्य प्रतिकीट २० डलर पर्छ । पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीईलगायतका सामान नेपाल पठाइएको हो ।

 

कीटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै कीट खरिद गरी बिहीबार दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

 

यसैगरी दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको महासचिव सुवेदीले जानकारी दिए । दोस्रो चरणको सहयोग चार्टर्ड विमानको अभावमा चीनको ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले जनाएको छ ।

महानगरले तोकेका ठाउँमा तरकारी बेच्न जानै चाहेनन् व्यवसायी Read Previous

महानगरले तोकेका ठाउँमा तरकारी बेच्न जानै चाहेनन् व्यवसायी

सञ्चयकोषले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने Read Next

सञ्चयकोषले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने