काठमाडौंमा । काठमाडौं महानगरपालिका तोकेको ११ स्थानमध्ये दुई स्थानमा मात्र तरकारी बजार सञ्चालन आएको छ ।
महानगरपालिकाले कालिमाटी फलफूल तथा तरकारी बजारमा हुने उपभोक्ताको भीडभाड नियन्त्रण गर्न बिहीबारबाट कालिमाटी बाहेक अन्य ११ स्थानमा तरकारी पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
सो निर्णय अनुसार कालिमाटीमा बजार खुल्ला गरिएको छैन । त्यसो भएता पनि कालिमाटीमा आउने तरकारी भने अन्य बजारहरुमा व्यवसायीहरुले आफ्नै सम्पर्कमा पुर्याउन सुरु गरेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार कालिमाटी बजार चैत्र २२ गतेदेखि पूर्ण बन्द गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कालिमाटी बजारबाहेक कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, बसुन्धरा, गोपीकृष्ण हल चोक, तिनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, सो मध्ये हालसम्म कलंकी र स्वयम्भूमा मात्र तरकारी विक्री सुरु भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान पौडेलले बताए ।
उनले तोकिएका स्थानहरुमा तरकारी विक्रीका लागि स्थान उपलब्ध गराए पनि हालसम्म सबै ठाउँमा व्यवसायीहरु नपुगेको बताए । उनले केही समयमा सबै स्थामा व्यवसायी पुग्ने र सबै स्थानबाट तरकारी विक्री वितरण सुरु हुने दाबी गरे । ‘अहिले कलंकी र स्वयम्भूमा विक्री सुरु भइसकेको छ, अन्य स्थानमा व्यवसायीहरु आएका छैनन, त्यहाँ पनि चाँडै सुरु हुन्छ,’ डंगोलले चाणक्यपोष्टसँग भने ।
तोकिएका स्थानमा बिहान २ बजेदेखि ८ बजेसम्म तरकारी विक्री सुरु गर्ने निर्णय भएको छ । सो निर्णय पछि तरकारी बजारमा तरकारी आपूर्ति कम हुँदै गएको कालिमाटी बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठले बताए ।
शुक्रबार १ सय टन तरकारी कालिमाटी बजारमा आपूर्ति भएको छ । उनका अनुसार कालिमाटी बजारबाट विक्री बन्द गरिएपछि व्यवसायीहरुले तरकारी ल्याउन कम गरेको उनले बताए ।
‘बन्द घोषणा भएपछि तरकारी आपूर्ति धेरै कम भएको छ, आएकाहरु सीधै तोकिएको बजारमै व्यवसायी आफैले लग्ने गरेका छन्,’ श्रेष्ठले भने ‘यहाँ विक्री नहुने भएपछि धेरै जसो तरकारीका ट्रकहरु सीधै तोकिएकै ठाउँमा जाने भएर होला ।’
सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि तथा कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अधिकारीहरूले छलफल गरेर ती स्थानमा तरकारी पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।