नेपालीहरु सेयर बजार प्रति आकर्षित हुन थालेका छन् । अहिले बजारले केही गति पक्रन नसकेको हुनाले मात्र मानिसहरु केही सुस्ताएका हुन् । नत्र त दिनमै २ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार हुन थालिसकेको थियो ।
केही दशकअघि मात्र कार्यालय सञ्चालनको ब्ययभार थेग्न नसकेर झोलामा कार्यालय बोकेर हिँड्ने ब्रोकरहरु महङ्गा ब्यवसायीक क्षेत्रहरुमा कार्यालय स्थापना गरेर बसेका छन् ।
बजार बढेका बेला लगानीकर्ताहरु खचाखच हुन्छन् । अब त उपत्यका बाहीर पनि ब्रोकरका शाखा बिस्तार भइसकेका कारण लगानीकर्ता त्यताबाट पनि ओइरन थालिसकेका छन् ।
चर्चाको विषय के हो भने राष्ट्र बैंक जस्तो विश्वसनीय र शक्तिशाली सरकारी संयन्त्र नियामक रहेको र उसले ब्यवस्थापन हातमा लिएर सुधार्ने प्रयास गर्दा पनि कुनै कम्पनी डुब्न सक्ने रहेछन् भन्ने हो ।
आर्थिक विकासको लागि पुँजी संकलन गर्ने क्षेत्र भएका कारण लगानीकर्ताहरुको पुँजीबजारको प्रवेशलाई सुखद नै मान्नुपर्छ । तर, आम लगानीकर्ताले बजारको अन्र्तनिहीत जोखिमलाई बुझे जस्तो लाग्दैन । सेयर बजार अत्यन्तै जोखिमयुक्त बजार हो । र, यहाँ लगानी गर्दा राम्रो कमाउने सम्भावना हुनुको साथै सर्वश्व गुमाउने अवस्था पनि आउन सक्छ ।
केही लगानीकर्ताहरु सेयर बजारलाई पैसा फल्ने रुखको रुपमा बुझ्छन्, जहाँ जोखिम हुँदैन । उनीहरु आफ्नो लगानीको निश्चित प्रतिशत होइन, गुणामा कमाउन चाहन्छन् । कमसेकम उनीहरुको अपेक्षा र अभिब्यक्तिहरु केलाउँदा त्यस्तै लाग्छ । वास्तवमा, लगानीकर्ताले कुनै सेयर किनेका छन्, र त्यो कम्पनी डुब्यो भने कम्पनीको सम्पूर्ण दायित्व चुक्ता भएपछि मात्र सेयरधनीहरुको पालो आउँछ । सेयरको अन्र्तनिहीत जोखिम हो यो ।
नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड (एनएसएम) एउटा त्यस्तै उदाहरण हो ।
सन् २०१० जुन ६ मा कम्पनीको नेप्सेमा अन्तिम कारोबार भएको थियो, प्रतिकित्ता १ सय ७४ रुपैंयाँमा । जस–जसले त्यो दिन यो कम्पनीको सेयर बेचेनन्, उनीहरुले अहिलेसम्म बेच्न पाएका छैनन् । बेच्न नपाएका मात्र होइनन्, उनीहरुको सेयर संख्या समेत झण्डै ९० प्रतिशतले घटेको छ । अर्थात, उनीहरुको १ सय कित्ता सेयर करिब १० कित्तामा खुम्चिएको छ ।
एनएसएमले सन् २०१५ को अक्टोबरमा एक सूचना प्रकाशित गर्दै कम्पनीको सम्पूर्ण दायित्व पश्चात राष्ट्र बैंकको निर्देशन बमोजिम सम्पत्तिको वास्तविक मूल्य प्रतिबिम्बित हुने गरी पुँजी घटाउने निर्णय गरेको थियो । कम्पनीले आफ्नो २ अर्ब ३ करोड ४२ लाख रुपैंयाँ चुक्ता पुँजीलाई घटाएर २३ करोड ३३ लाख रुपैंयाँमा झारेको थियो । साथै, कम्पनी मर्जर वा प्राप्तिको लागि तयार रहेको र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई ३५ दिनभित्र प्रस्तावसहित आउन आव्हान गरेको थियो ।
नेपाल राष्ट्र बैंकले एनएसएमको बोर्ड खारेज गर्दै आफैंले ब्यवस्थापनको जिम्मा लिएको थियो । तर, समस्याग्रस्त कम्पनीको उद्धार भने अझै भएको छैन ।
एनएसएम कुनै समय बाणिज्य बैंक बन्ने अभिलाषा सहित आफ्नो पुँजी बढाउँदै २ अर्ब नघाएको फाइनान्स कम्पनी हो । २०५० सालमा स्थापना भएको कम्पनीको प्रधान कार्यालय पुतलिसडमा थियो भने शाखाहरुको सञ्जाल पनि देशका मुख्य सहरहरुमा फैलिसकेका थिए । कम्पनीले काठमाडौंलगायत नारायणगढ, कैलाली, पोखरा, पनौती र बेनीमा शाखा सञ्जाल बिस्तार गरिसकेको थियो । कम्पनी आफूसँग क्षमतावान् र सृजनशिल कार्यकारीहरु र उर्जावान् कर्मचारी रहेको दाबी गर्दथ्यो । तर, समस्याग्रस्त भयो र आफूसँगै कैयौं प्रमोटर र सर्वसाधारणलाई पनि गहिरो खाडलमा जाक्यो ।
एनएसएम किन र कसरी असफल भयो भन्ने यहाँ चर्चाको विषय होइन । चर्चाको विषय के हो भने राष्ट्र बैंक जस्तो विश्वसनीय र शक्तिशाली सरकारी संयन्त्र नियामक रहेको र उसले ब्यवस्थापन हातमा लिएर सुधार्ने प्रयास गर्दा पनि कुनै कम्पनी डुब्न सक्ने रहेछन् भन्ने हो । नियामक कमजोर भएको वा हुँदै नभएको क्षेत्रको जोखिम त झन् उच्च हुने नै भयो ।
सन् २०१३ मा मात्र नेप्सेले ४४ कम्पनीलाई ‘डिलिस्ट’ (सुचीकरण रद्द) गरेको थियो । यस्ता अधिकांश कम्पनी ट्रेडिङ र उत्पादन समूहका थिए । उनीहरुले नेप्सेमा कारोबार गर्न तिर्नुपर्ने शुल्क समेत तिरेनन् र सम्पर्कमा पनि आएनन् । ती सबै कम्पनी समस्याग्रस्त भइसकेका थिए । नेप्सेले समेत ती कम्पनीका वास्तविक अवस्था आफूलाई थाहा नभएको जनाएको थियो ।
कम्पनी यसरी डुब्नु भनेको सेयरधनीहरु डुब्नु हो । निक्षेपकर्ता र अन्य सेवा प्रदायकलाई पनि जोखिम हुन्छ, । तर, उनीहरु दायित्व चुक्ता गर्दा पहिलो प्राथमिकतामा पर्छन् भने सेयरधनी अन्तिममा ।
एनएसएम त्यस्तो उदाहरण हो जसले सेयर बजारको सम्भावित जोखिमका बारे बुझ्न मद्दत गर्छ । सेयर बजार निकै आकर्षक प्रतिफल लिने बजार हो । तर, जति धेरै प्रतिफल उती धेरै जोखिम भन्ने वित्तीय शास्त्रको आधारभूत सिद्धान्त पनि हो । त्यसैले अवसर छोप्न सक्नु र जोखिम आंकलन गर्न सक्नु सेयर बजारमा सफलताको सबैभन्दा महत्वपूर्ण कडी हो ।