काठमाडौं । १२ नयाँ सहरको डीपीआर सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा नै १२ नयाँ सहरको डीपीआर सम्पन्न भएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत सुरुमा निर्माण हुन लागेका १० वटा नयाँ सहर र पछि थप गरिएको २ सहरको डीपीआर निर्माण सम्पन्न भएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख चक्रपन्ती कंठले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पहिलो चरणमा डीपीआर तयार भएका पाँचथरको फिदिम, तेह्रथुमको वसन्तुपर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनँहुको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछाम साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्री हुन् ।
पहिलो चरणमा डीपीआर तयार पारिएको १० नयाँ सहर निर्माणको लागि छुट्टाइएको रकम चालु आर्थिक वर्षमा ६० देखि ७० प्रतिशतसम्म खर्च भएको छ ।
चालु आर्थिक वर्षमा उक्त सहर निर्माणको कामको लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
सरकारले एकिकृत विकास आयोजना (आईडीपी) अन्तर्गत निर्माण गर्न लागेको नयाँ सहरको भौतिक प्रगती संतोषजनक रहेको उनले जानकारी दिए ।
अहिले नयाँ सहर अन्तर्गत सहरी पूर्वाधार निर्माणको काम भइरहेको छ । ५ वटा नयाँ सहरको ‘ब्लकमा प्लान’ तयार गर्ने काम भइरहेको मन्त्रालयका योजना तथा अनुगमन शाखा कंठले रहेको जानकारी दिए ।
‘यी सहरहरु एकिकृत विकास आयोजना अन्तर्गत निर्माण हुन लागेका हुन्, अहिले सहरी पूर्वाधार निर्माण हुने क्रममा रहेको छ,’ कंठले चाणक्यपोष्टसँग भने ।
यस्तै हुलाकी राजमार्ग अन्तर्गत निर्माण हुने १५ वटा नयाँ सहरको डीपीआर निर्माणको क्रममा रहेको छ । उक्त क्षेत्रमा बन्ने नयाँ सहरहरुको डीपीआर यही चालु आर्थिक वर्षसम्ममा बन्नु पर्ने थियो । तर, हालसम्म मस्यौदा मात्र तयार भएको मन्त्रालयले जानकारी दिएको छ । आगामी आर्थिक वर्षमा ती सहरहरुको डीपीआर तयार हुने मन्त्रालयले जनाएको छ ।
२७ नयाँ सहर बन्दै
सरकारले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गमा २७ वटा नयाँ सहर निर्माण गर्न लागेको हो । जसमध्य १२ नयाँ सहरको डीपीआर तयार भएको छ भने १५ नयाँ सहरको डीपीआर निर्माण भइरहेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्च, रंगेली, सम्भुनाथ, महागढीमाई, बर्दघाट, बलवा, बेलौरी, इश्वरपुर, भजनी, गढवा गरी १० वटा नयाँ सहरको डीपीआर तयार हुने क्रममा रहेको छ ।
त्यसैगरी मनरा, ब्रमपुरी, नौलापुर, कटहरीया र राजापुर नयाँ सहरको डीपीआर समेत आगामी आर्थिक वर्ष आउने मन्त्रालयले जनाएको छ ।