कोरोनाको प्रभाव मूल्यांकन गर्न अध्ययन समिति गठन गर्ने तयारीमा अर्थमन्त्री

काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रबिधि मन्त्री युवराज खतिवडाले कोरोनाको कहर पश्चात राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गरिने बताएका छन् ।

 

कोरोना रोगको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग आज अर्थ मन्त्रालयमा भएको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

 

मन्त्री खतिवडाले कोरोना संक्रमण रोकथामका लागि अरु मुलुकहरुले चालेका कदमहरुको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप साबधानी तथा कोरोना जोखिम समाप्ति पछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गरिने बताएका हुन् ।

 

कार्यक्रममा मन्त्री खतिवडाले साझा समस्यालाई साझा रुपमै समाधान गर्नुपर्ने समय आएकाले सबै जना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए ।

 

खतिवडाले सरकारले समयमा नै चालेको कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराह्ना गरिएको सन्दर्भ उल्लेख गरे ।

 

साथै, संघीय संरचना अनुरुप जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको उल्लेख गर्दै उनले स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको बताए ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीले आफ्ना धारणा राखेका थिए । छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सदस्यहरु, अर्थ सचिव, राजस्व सचिव र राष्ट्रिय योजना आयोगका सचिव लगायत सहभागी थिए ।

मजदूरलाई राहत : कुपन वडा कार्यालमा, खाद्यान्न नजिकको पसलबाट Read Previous

मजदूरलाई राहत : कुपन वडा कार्यालमा, खाद्यान्न नजिकको पसलबाट

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट Read Next

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट