काठमाडौं । शंका लागे भारतको मात्र नभई जुन सुकै देशबाट आउने तरकारी तथा फलफुल परिक्षण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताए ।
उनले आज कालीमाटी फलफुल तथा तरकारी बजारमा रहेको विषादी परिक्षणको अनुगमन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘शंका लागे भारतको मात्र हैन जुनसुकै देशबाट आउने तरकारी, फलफुल तथा खाद्ययन्न परिक्षण गर्नेछौँ,’ खनालले भने ।
उनले नेपालमा विषादीको सन्दर्भ नबुझी आफ्नै ढंगले विशलेषण भइरहेको बताए । विषादीको विषयमा छलफल हुनु राम्रो हो तर, विषादीको प्रयोग कति छ ? कति प्रयोग गर्नुपर्छ त्यो जान्न आवश्यक रहेको बताए ।
उनले नेपालमा मात्र नभई विश्वरभर कृषिमा विषादी प्रयोग हुने र त्यसका लागि विश्व मापदण्ड समेत रहेको दाबी गरे ।
अहिले नेपालमा १६९ प्रकारका विषदी र ति विषादीको मिसावटबाट बन्ने ३ हजार ३५ प्रकारको विषादी प्रयोग गर्न पाइन्छ । चालु आर्थिक वर्षमा सरकारले ५ प्रकारको विषादी पूर्ण रुपमा प्रयोगमा प्रतिवन्ध लगाएको उनले जानकारी दिए । हालसम्म नेपाल सरकारले २१ प्रकारका विषादी प्रयोगमा प्रतिबन्द लगाइएको छ ।
चालु आर्थिक वर्षमा कालिमाटी बजारमा आएका तरकारी मध्ये बोडी र ब्रो काउलीमा विषादी देखिएको कालिमाटी विषादी ल्याबका नायब प्राविधिक साहयक जागेश्वर शर्माले जानकारी दिए ।
उनका अनुसार धादिङबाट ल्याइएको बोडी र ब्रोकाउलीमा केही मात्रामा विषादी देखिएको थियो भने त्यसलाई तत्कालै नष्ट गरिएको थियो ।
भारतबाट आएका तरकारीहरुमा हालसम्म विषादी परिक्षण गर्दा विषादी नपाइएको उनको दाबी छ ।
नेपालमा एउटा केन्द्रीय विषादी ल्याब रहेको छ । जसबाट हरेक किसिमका विषादी जाँच गर्न सकिन्छ । त्यस बाहेक कालिमाटीसहित ८ वटा विषादी परिक्षण ल्याब सञ्चालनमा रहेको उनले जानकारी दिए ।
मन्त्रालयले २२ जना भन्दा बढीलाई कृषि विषादी परिक्षणको लागि तालिम दिइरहेको जनाइएको छ । नेपालमा २०७१ भन्दा अघि विषादी परिक्षण गर्ने ल्याव थिएन । ०७१ मा पहिलो पटक कालिमाटीमा विषादी परिक्षण मेसिन दातृनिकायबाट लिई प्रयोगशाला बनाइएको थियो ।
अर्गानिक खेतीमा जोड
सरकारले अर्गानिक खेतीलाई व्यवस्थीत गर्न १५ सदस्य प्राङगारीक समिति निर्माण गरेको छ । आगामी आर्थिक वर्षमा अर्गानिक खेती बिस्तारको लागि सरकारले ५२ करोड लगानी गर्ने तयारी गरेको मन्त्री खनालले जानकारी दिए ।