विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण आफूलाई महाशक्ति भन्ने अमेरिका समेत नराम्ररी प्रभावित भएको छ । कोरोनाको असरले अमेरिकामा एकाएक बेरोजगारी बढेको छ । अमेरिकामा पछिल्लो साता ३० लाखभन्दा बढी मानिसहरुले आफू बेरोजगारी भएको दाबी गर्दै बेरोजगारीको सूचीमा नाम दर्ता गराएका छन् ।
अमेरिकाको श्रम विभागमा यसअघि नागरिकले आफू बेरोजगारी भएको भन्दै बेरोजगार भत्ता अथवा अन्य लाभका लागि नाम दर्ता गराएका थिएनन् । यसअघस सन् १९८२ मा पनि बेरोजगारीको समस्या बढेको थियो । त्यस समयमा करिब ६ लाख ९५ हजार मानिसहरुले आफू बेरोजगार भएको भन्दै बेरोजगारको सूचीमा नाम दर्ता गराएका थिए ।
यद्यपि, अमेरिकाको संसदले बुधबार २० खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजलाई पारित गरिएको छ । अमेरिकी इतिहासमा यो अहिलेसम्मकै सबभन्दा बढी आर्थिक सहायता प्याकेज घोषणा गरिएको हो ।
कोरोना महामारीका कारण अमेरकामा रेस्टुरेन्ट, बार, सिनेमा, होटल, जिम सेन्टरलगायत सबै बन्द गरिएका छन् । कार कम्पनीको उत्पादनमा रोक लगाइएको छ भने हवाई सेवा पनि सीमित गरिएको छ।
४ फेब्रुअरी, २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनका क्रममा भनेका थिए, ‘रोजगारीमा वृद्धि भइरहेको छ । गरिबी कम भएको छ । अमेरिकनहरुमा आत्मविश्वास बढिरहेको छ भने मुलुक समृद्धितर्फ अघि बढिरहेको छ ।’
ट्रम्प अमेरिकाको २१.४४ ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्थालाई लिएर निकै उत्साहित देखिन्थे । हुन पनि १४.४ ट्रिलियनको चीन, २.८ ट्रिलियन र पाकिस्तानको ३२० बिलियनको जीडीपीलाई हेर्ने हो भने निश्चित रुपमा अमेरिकी अर्थव्यवस्था उत्साहप्रद नै हो ।
अमेरिकी राष्ट्रपतिले आफ्नो अर्थव्यवस्थालाई ब्याख्या गरिरहँदा चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५०० पुगेको थियो भने हजारौं संक्रमित भएका थिए । यसबेला अमेरिकाले यस संकटलाई खासै वास्ता गरेको थिएन र यसरी महामारीको फैलिन्छ भन्ने विषयमा अमिकाको गम्भीरता शून्यजस्तै थियो ।

अमेरिकी शेयर बजारले नयाँ उचाई हासिल गरेको धेरै समय बितेको छैन । बेरोजगारी दर ३.६ प्रतिशतसँगै ५० वर्षयताकै न्यूनतम स्तरमा पुगेको थियो । अमेरिकाले चीनसँग दुई सय अर्बको सम्झौता गरेको थियो भने आफ्नो सम्पदा कानुलाई बलियो बनाएको थियो ।
तर, अमेरिका आफ्नो तथ्यांकलाई लिएर उत्साहित भएको डेढ महिनामा नै अवस्था ठिक विपरीत बनेको छ । अमेरिकामा १०५० भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित भएका छन् । संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रण हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनले अबको कोरोना संक्रमणको नयाँ इपिसेन्टर अमेरिका बन्ने चेतावनी दिएका छन् ।
अर्थ व्यवस्था नै संकटमा
व्यापार, स्कूल, खेलकुदलगायतका सबै गतिविधि बन्द गरिएका छन् । सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । स्टक मार्केटको अवस्था निकै कमजोर छ । सडक सुनसान छन् । यातायात र हवाई उडानहरु रोकिएका छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा ४ ट्रिलियन डलर बराबरको नोक्सान हुनसक्ने आकलन अर्थशास्त्रीले गरेका छन् । बैंक अफ अमेरिकाका अर्थशास्त्री मिसेल मेयरले लेखेका छन्, ‘हामी आधिकारिक रुपमा घोषणा गर्न सक्छौं कि अमेरिकी अर्थव्यवस्थामा मन्दीको सुरुआत भएको छ । हामी अन्य विश्वका मुलुकको जस्तै अर्थव्यवस्थामा पुगेका छौं । हामी गहिरो संकटमा पुगिसकेका छौं ।’
उनले थप लेखेका छन्, ‘मानिसहरु जागिरविहीन हुनेछन्, पैसा हुनेछैन र निकै निराशाको स्थिति पैदा हुनेछ ।बैंक अफ अमेरिकाका अनुसार दोस्रो तीन महिनामा १२ प्रतिशत गिरावटसँगै अर्थव्यवस्था डुब्ने स्थितिमा पुग्नेछ । यो स्थिति कति लामो समय चल्नेछ भन्ने यतिकै भन्न सकिने स्थिति छैन । त्यसकारण अर्थव्यवस्था थप संकटमा पर्नेछ ।
स्वीस बैंक कम्पनी टाइटनका अनुसार अमेरिकी अर्थव्यवस्थाको वृद्धिदर पहिलो तीनमा महिनामा माइनस २.१ प्रतिशतसम्म गिरावट आउने र दोस्रो तीन महिनामा १० प्रतिशतले घट्ने भएको छ ।
यसरी अर्थव्यवस्थामा आएको गिरावटको सीधा असर जागिरमा पर्नेछ । बैंक अफ अमेरिकाका अनुसार बेरोजगारको संख्या दुई गुणा बढ्नेछ । हरेक महिना १० लाख जागिर आवश्यक पर्नेछ । यस अनुसार दोस्रो तीन महिनामा ३५ लाख जागिर आवश्यक पर्नेछ ।
एनालिसिस कम्पनी अक्सफोर्ड इकोनमिक्सले यातायात बन्द हुँदा ४८ लाख मानिसहरु बेरोजगार हुने अनुमान गरेको छ । यस वर्ष यात्रामा खर्च हुने ३५५ अर्ब डलर रकम चल्नेछैन । अमेरिकी अर्थव्यवस्थामा यसका कारण ८०९ अमेरिकी डलर बराबरको नोक्सन हुनेछ । जुन सन् २०११ को सेप्टेम्बरमा भएको घटनाका कारण भएको घाटाभन्दा ६ गुणा बढी हो ।
-एजेन्सी