काठमाडौं । सोमबार (आज)देखि सेयर कारोबार ५ दिन बन्द रहने भएको छ । धितोपत्र बोर्डले आजदेखि आगामी आइतबारसम्म सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ ।
आइतबार अर्थमन्त्रालयमा भएको सेयरबजारसँग सम्बन्धित सबै सरोकारवालाको छलफल पछि अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डलाई सेयर कारोबार रोक्न निर्देशन दिएका थिए । अर्थमन्त्रीको निर्देशन पछि बोर्डले आफ्नो विशेष अधिकार प्रयोग गर्दै ५ कार्यदिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई ले दिएको विशेष अधिकार प्रयोग गर्दै बजार बन्द गराएको हो । ऐनको दफा ९० को उपदफा १ को (घ)मा धितोपत्र बजारसँग परामर्श गरी पाँच दिनसम्म बजार बन्द गर्न सक्ने व्यवस्था छ । यही अधिकार प्रयोग गर्दै बोर्डले बजार बन्द गर्न निर्देशन दिएको हो ।
शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा नपर्ने भए पनि आइतबार भने नेपाल स्टक्स एक्चेन्जले सेयर बजार खुला गरेको थियो ।
आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो । आइतबार लगानीकर्ताका विभिन्नसंघले सेयर बजार बन्द गर्न माग गर्दै नेप्से कार्यालय समेत पुगेका थिए ।