अब देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तीव्र सुधार गरिने बताएका छन् । उनले सफाइ मजदूरहरुलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताएका हुन् ।

 

शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ मन्त्रालयलाई हस्तान्तरण गरेको छ । सो क्रममा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाइ लागि सरकारले काम गर्ने बताएका हुन् ।

 

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सरसफाइ अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाएका थिए ।

 

धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

 

‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाइको अवस्था, समस्या, कानूनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

 

मन्त्री भट्टराईले यी सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएका थिए । उनले सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिएका छन् । सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिइएको छ ।

 

सो पछि त्यसको अर्को ३ महिनामा फेरि विमानस्थलहरु निरीक्षण गरी त्यसको सरसफाइको मूल्यांकन गरिने छ । सो मूल्यांकन अनुसार विमानस्थलको सरसफाइलाई विकास गर्दै लैजाने मन्त्रालयको योजना रहेको छ ।

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने Read Previous

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने

हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडान स्थगित Read Next

हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडान स्थगित