काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन जेठको पहिलो हप्ता गर्ने गरी तत्काललाई घोषणा भएको मिति सर्ने भएकोे छ ।
महासंघले आज पदाधिकारी बैंठक बोलाएर पूर्व निर्धारित चैत २८ र २९ गते गर्ने भनिएको निर्वाचनको मिति सार्ने भएको हो । सरकारले २५ जनाभन्दा बढीको भेला तथा सम्मेलनमा रोक लगाएसँगै महासंघको निर्वाचन स्वत सर्ने भएको हो ।
नयाँ निर्वाचनको विषयमा स्थायी कमिटिले तय गर्ने भनिएपनि पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष पशुपति मुरारका, अध्यक्ष भवानी राणा, उपाध्यक्ष बीच भएको अनौपचारीक छलफलबाट आगामी जेठको पहिलो साता साधारण सभा गर्ने विषयमा सहमति भएको बताइएको छ ।
‘सम्भवत आगामी जेठ ७ र ८ गते निर्वाचनको नयाँ मिति तोकिने छ तर, त्यतिवेलासम्म पनि कोरोनाको अवस्था कस्तो रहन्छ अहिल्यै भन्न सकिने अवस्था छैन’, महासंघका एक कार्यसमिति सदस्यले चाणक्य पोष्टसँग भने । अब निर्वाचन सर्दा पहिला प्रदेशको निर्वाचन गर्नु पर्ने ति सदस्यले बताए ।
महासंघको विधान अनुसार पहिला प्रदेश महासंघको निर्वाचन हुनु पर्छ । अनिमात्रै केन्द्रमा निर्वाचन हुन्छ । यदि अवस्थाले साथ दियो भने बैशाख अन्तिम साता सबै प्रदेशको निर्वाचन हुन्छ । संभवत आजको स्थायी समिति बैठकले यस विषयमा टुङ्गो लगाउने छ ।
अलमलमा उम्मेदवार
निर्वाचनको मिति घोषणा हुनु अगावैदेखि चुनावी प्रचारप्रसारलाई आक्रामक बनाएर अगाडी बढेका उम्मेदवारहरु अब कसरी अगाडि जाने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् । उनिहरुले अब आउने नयाँ मिति अनुसार आफ्नो चुनावी कार्यक्रम कसरी अगाडी बढाउने भन्ने विषयमा कुरा गर्न सुरु गरेका छन् ।
निर्वाचनमा विधानत अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्ने छन् भने वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरि एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र सघाई, जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनीधि तिवारी र वस्तुगत अपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ बीचमा प्रतिस्पर्धा हुँदैछ ।