कोरोनाका कारण सेनिटाइजरको माग उच्च, २६ करोडको आयात

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण बजारमा ह्यान्ड सेनिटाइजर (हातलाई किटानु रहित पार्ने एक प्रकारको झोल पदार्थ)को माग ह्वात्तै बढेको छ । पछिल्लो समय मागसँगै खपत पनि बढेपछि यसको आयात पनि बढेको छ ।

 

चालू आर्थिक वर्षमा कुल २६ करोड १८ लाख ६४ हजार रुपैयाँ बराबरको ह्याण्ड सेनिटाइजर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ) सम्ममा ६ लाख ८३० केजी ह्याण्ड सेनिटाइजर आयात भएको विभागले जनाएको छ ।

 

वीरगञ्ज भन्सारका सूचना अधिकारी सन्तोस यादवले मासिक १ करोड रुपैयाँभन्दा बढी मूल्यको ह्याण्ड सेनिटाइजर आयात भइरहेको बताए ।
उनले भन्सारबाट फागुन महिनामा मात्र १ करोड ८७ लाख रुपैयाँ बराबरको ह्याण्ड सेनिटाइजर वीरगञ्ज भन्सार हुँदै भित्रिएको बताए । सो मूल्यमा ४१ हजार १ सय ३१ केजी ह्याण्ड सेनिटाइजर आयात भएको हो ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्ममा ६ लाख ८३० केजी ह्याण्ड सेनिटाइजर आयात भएको छ । नेपालमा चीन, भारत, जर्मनी, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, अमेरिका र बेलायतबाट यस्ता सेनिटाइजर, ह्याण्डवास आयात हुँदै आएको छ ।

 

गतवर्ष फागुन महिनामा १ करोड ३७ लाख रुपैयाँ बराबरको ह्याण्ड सेनिटाइजर आयात भएको उनले जानकारी दिए । त्यसको तुलनामा हाल ठूलो अन्तरले ह्याण्ड सेनिटाइजर आयात भइरहेको उनले बताए ।

 

‘विगतको तुलनामा ह्याण्ड सेनिटाइजर धेरै आयात भइरहेको छ, पहिला अस्पतालमा मात्र प्रयोग हुन्थ्यो तर, अहिले हरेक घरमा प्रयोग हुने भएकाले धेरै आयात भएका हुन्,’ यादवले चाणक्य पोष्टसँग भने ।

 

गत आर्थिक वर्षको ७ महिनामा २० करोड रुपैयाँ बराबरको ह्याण्ड सेनिटाइजर आयात भएको तथ्यांकले देखाएको छ । गत वर्ष सोही अवधिमा ५ लाख १७ हजार ७ सय ८९ केजी ह्याण्ड सेनिटाइजर आयात भएको थियो ।

 

गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतका हाराहारीमा बढी आयाता भएको हो । गत आर्थिक वर्षमा कुल ३३ करोड ११ लाख रुपैयाँ बराबरको ह्याण्ड सेनिटाइजर आयात भएको थियो ।

 

नेपालमा चीन, भारत, जर्मनी, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, अमेरिका र बेलायतबाट यस्ता सेनिटाइजर, ह्याण्डवास आयात हुँदै आएको विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले बताए ।

 

हाल बजारमा ह्याण्ड सेनिटाइजरको अभाव रहेको देखिएको छ । विश्वभर कोरोना कोभिड १९ को प्रभाव परिरहेका बेला मानिसहरु ह्याण्ड सेनिटाइजरतर्फ आकर्षण भएका छन् ।

 

एउटा परिवारमा हरेक सदस्यले ह्याण्ड सेनिटाइजर प्रयोग गर्ने हुँदा हाल त्यसको विक्री बढेको छ । पछिल्लो समय, घरमा मात्र नभई हरेक कार्यालयमा समेत ह्याण्ड सेनिटाइजर राखिएकाले बजारमा यसको उपभोग ठूलो मात्रामा बढी रहेको छ ।

 

ह्याण्ड सेनिटाइजर आयात बढिरहेको भएता पनि बजारमा माग उच्च हुँदा यसको उपभोग संख्या वृद्धि भएको पुडासैनीले बताए ।
रातोपुलस्थित भरत फार्मेसिका विकास न्यौपानेले बजारमा ह्याण्ड सेनिटाइजर किन्न व्यक्ति धेरै रहेको बताए । उनले एकै जनाले ५ देखि ८ वटासम्म ह्याण्ड सेनिटाइजर खरिद गर्ने गरेको बताए ।

 

‘एक जनाले ५ वटा भन्दाबढी ह्याण्ड सेनिटाइजर किन्छन्, हामीले भए जति विक्री गरिरहेका छौँ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।
हाल बजारमा न्यूनतम ६० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको विक्रीमा राखिएको छ ।

 

ह्याण्ड सेनिटाइजर प्रयोगले हातमा रहने ९० प्रतिशतभन्दा बढी किटान मार्ने हुँदा यसको प्रयोग उपत्यकामा बढ्दो क्रममा रहेको छ । हाल विश्व बजारमै ह्याण्ड सेनिटाइजरको प्रयोग बढ्दो रहेको छ ।

भारतसँग सीमा जोडिएको जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक Read Previous

भारतसँग सीमा जोडिएको जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक

१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल Read Next

१० वर्षमा पनि बनेनन् कर्णाली राजमार्गका १३ पुल