अब ‘खाली सिसि’ कवाडी सामन किन्न घरघरमै आउने, यस्तो छ मूल्य

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन संस्थाबीच मंगलबार सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन संस्थाका अध्यक्ष आयुषी केसीले हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार अब खाली सिसिले महानगरबासीले बोलाएको ठाउँमा गएर कवाडी सामान खरिद गर्नुपर्नेछ । महानगरबासीले विक्री गर्न चाहेको कवाडी सामानको विवरण र ठेगाना पठाएपछि सो संस्थाले पहिचान झल्कने पोशाक लगाएका व्यक्ति सामान खरिद गर्न पठाइनेछ । यसरी खरिद गरिएको सामान संकलन गर्ने, प्याकिङ गर्ने, ढुवानी गर्ने जिम्मेवारी खाली सिसिले नै गर्नेछ ।

 

खरिद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी ५ प्रकृतिका पुनःप्रयोगी सामान खरिद गर्ने उल्लेख छ ।

 

कुन कवाडी सामानको मूल्य कति ?

 

खरिद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी ५ प्रकृतिका पुनःप्रयोगी फोहोर खरिद गर्ने उल्लेख छ । कागज प्रकृति अनुसार पत्रपत्रिका कागजको प्रतिकिलो १० रुपैयाँ, किताब ७ रुपैयाँ, कापीको १२ रुपैयाँ, एफो साइज कागजको ७ रुपैयाँ, म्यागाजिनको ७ रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ, कार्डबोर्डको ३ रुपैयाँ, अण्डाको क्रेटको प्रतिकिलो ३ रुपैयाँ राखिएको छ ।

 

यो मूल्य सामान खरिद गरिने स्थानका आधारमा पनि तय हुनेछ । खाली सिसि व्यवस्थापनकी अध्यक्ष केसी लामो दूरीबाट ढुवानी गर्नुपर्यो भने मूल्य कम हुन सक्ने बताउँछिन् । यो मूल्य चलनचल्तीको बजारभाउले पनि निर्धारण गर्ने उनले बताइन् ।

 

अनुसूचीमा राखिएको दोस्रो प्रकृतिको पुनःप्रयोगी फोहोरअन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मूल्य प्रति गोटा ५० पैसा राखिएको छ । त्यस्तै तेस्रो प्रकृतिको पुनःप्रयोगी फोहोरमा प्लाष्टिकजन्य वस्तुलाई राखिएको छ । यसमा पानीको बोतल लगायत प्लाष्टिकका बोतलमा राखिएका पेय वस्तुका खोलको मूल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ ।

 

धातुजन्य फोहोरअन्तर्गत आल्मुनियनका सामानको प्रतिकिलो ९० रुपैयाँ, सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थाअनुसार मूल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै धातु, ब्रास, तामा, स्टिल र टिन मूल्य प्रतिकिलो क्रमशः २०, ३८०, ४५०, २० र ४ रुपैयाँ निर्धारण गरिएको छ ।

 

यसैगरी विद्युतीय फोहोरमा क्यामरा, कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका विद्युतीय उपकरण तथा तारहरु राखिएको छ । यिनीहरुको मूल्य भने सामानको परिणाम र अवस्था अनुरुप निर्धारण गरिने खाली सिसिले जनाएको छ ।

 

यी सामानको मूल्यसूची वडा कार्यालयमार्फत स्थानीयस्तरसम्म सूचना पुर्याइने छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले आवश्यकता अनुसार स्थानीयमा सूचना प्रवाह गर्न राखिने डिजिटल बोर्डको दायित्व खालीसिसिले निर्वाह गर्ने बताए ।

 

खाली सिसि व्यवस्थापनले निरीक्षणका क्रममा सन्तोषजनक काम नगरे ३५ दिनको सूचना दिएर सम्झौता भंग गरिने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार खाली सिसिले हरेक ४ महिनामा मूल्य पुनरावलोकन गरेर महानगरलाई परिवर्तित मूल्यका बारेमा जानकारी गराउनुपर्नेछ । यस व्यवस्थाले महानगरवासीमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने बानीको विकास हुने विभागका निमित्त प्रमुख श्रेष्ठले बताए ।

प्रभु बैंकले ३ ट्राफिक आइल्याण्डको व्यवस्थापन गर्ने Read Previous

प्रभु बैंकले ३ ट्राफिक आइल्याण्डको व्यवस्थापन गर्ने

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन, कति हुन्छ खपत Read Next

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन, कति हुन्छ खपत