काठमाडौं । क्यानमा १३ वटा नयाँ विमानस्थल निर्माणका लागि प्रस्ताव आएको छ । दाङ नारायणपुर विमानस्थल, बाग्लुङ अरर्नकोट, काभ्रे, मुस्ताङको चरङ, धनकुटा, धरान, सोलुखुम्बुको गुडेल, हुम्ला, पाँचथर, प्युठान स्वर्गद्धारी विमानस्थल, तेह्रथुम, उदयपुर, इलामको सुकिलुम्बा गरी १३ वटा नयाँ विमानस्थल निर्माणका लागि प्रस्ताव आएको हो ।
नागरिक उड्यन प्राधिकरण (क्यान) ले हालसम्म तीमध्ये दाङको नारायणपुर विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ । सोलुखुम्बुको गुडेल र इलामको सुकिलुम्बामा वातावरण प्रभाव अध्ययन भइरहेको क्यानले जनाएको छ ।
नयाँ विमानस्थल निर्माण गर्नका लागि प्रस्ताव आएका अन्य विमानस्थलको निर्माणका लागि समेत प्रारम्भिक अध्ययन गरिने क्यानका सुचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए ।
काभ्रेमा विमानस्थल निर्माणका लागि उपयुक्त स्थान नपाइएको अवस्था छ । मुस्ताङमा हाल ४ वटा विमानस्थल रहेको छ । अब अर्को नयाँ विमानस्थल बन्ने हो भने मुस्ताङमा हुने विमानस्थलको संख्या ५ पुग्ने छ । यी स्थानमा विमानस्थल निर्माण गर्ने नगर्ने विषय अझै टुंगो लागेको छैन ।
देशभर कुल ५४ वटा विमानस्थल रहेका छन् सो मध्ये ३२ वटा विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । २२ वटा विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । अहिले रहेकामा ३५ वटा विमानस्थलहरुमा ओभर ले गर्ने काम भइरहेको छ । विगत २ वर्षमा ८ वटा विमानस्थलमा ओभर लेको काम सम्पन्न भएको छ ।
थप ८ वटा विमानस्थलमा यो आवभित्र ओभर ले गरिने बताइएको छ । हाल डोल्पा, मछिनेचौर, कालिकोट, बझाङ, बलेवा, गुल्मी, इलाम, तुम्लिङटार र सुर्खेत विमानस्थलमा ओभर ल्याप गर्ने काम भइरहेको छ ।
टुम्लिङटार र सुर्खेतमा ओभर लेको काम मात्र गरिने छ भने अन्य विमानस्थलहरुमा नयाँ सरफेस राखिने छ । हाल ओभर ल्याप गरिन लागेका ८ वटा मध्ये ६ वटा विमानस्थलमा घाँसे धावन मार्ग भएकाले कालोपत्र गरेर ओभर ल्याप गरेर सरफेस निर्माण गरिने छ ।
विगतमा बनेका धावन मार्गहरु टोयन्टरलाई लक्षित गरेर बनाइएको थियो । त्यस अनुसार प्रत्येक धावन मार्ग ६ सेन्टी भन्दा माथिको रहेको छ । तर, अब भने त्यसमै ६ सेन्टी ओभर ल्याप थप गरेर त्यसमा एटीएफ ७२ समेत धान्न सक्ने गरी बनाइने छ ।
विगतमा रहेको सोही ओभर ल्यापमा सिआरजे क्यूरियस ८०० जहाजहरु चलाइदैं आएको छ । अब बन्ने धावन मार्गहरुले ठूला जहाजहरुलाई समेत धान्न सक्ने छन् । यस्तै क्यानले बन्द रहेका विमानस्थलहरु समेत विस्तारै सञ्चालनमा ल्याउने योजना बनाएको छ ।