काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ करोड ६० लाख कित्ता सेयर आजबाट सर्वसाधारणको लागि खुल्ला भएको छ । प्रति कित्ता १ सय रुपैयाँको दरले यो भनेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन हो । यो निष्काशन चाँडोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्ममा बन्द हुनेछ ।
निष्काशन गर्न लागिएको १ करोड ६० लाख कित्ता सेयर मध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुको लागि, ८० हजार कित्ता म्युचल फण्डहरुको लागि र बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो ।
आवेदन घटिमा १० कित्ता र बढिमा १० हजार कित्तासम्म दिन पाइनेछ । आरबीबी मर्चेन्ट बैंकले यो सार्वजनिक निष्काशनको व्यवस्थापन गर्न लागेको हो ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई ग्रेड २ दिएको छ । यो भनेको औसत भन्दा माथी हो ।
कस्तो छ कम्पनीको वित्तीय विवरण
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब १७ करोड खुद नाफा कमाएको थियो । कम्पनीले जीवन बीमाबाट १९ करोड ११ लाख र निर्जीवन बीमाबाट ९८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रिमियमबाट ५ अर्ब ५२ करोड खुद नाफा गरेको थियो । अघिल्लो वर्ष कम्पनीले प्रिमियमबाट २ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको जगेडा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ छ भने बीमा कोषमा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
हाल पुर्नबीमा कम्पनीको सम्पूर्ण सेयर स्वामित्व प्रमोटर सेयरधनीहरुमा रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४, १७ वटा निर्जीवन बीमा कम्पनीहरुको ३८, ८ वटा जिवन बीमा कम्पनीहरुको ८ र अन्य सार्वजनिक संस्थाहरुको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीले १ करोड ६० लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गरेर चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउन लागेको हो ।
कम्पनीले पूँजी घटाउनका लागि पाटन जिल्ला अदालतमा निवेदन दिएका कारण आइपीओ निष्काशनमा केही ढिलाइ भएको थियो । पाटल जिल्ला अदालतले कम्पनीको पूँजी घटाउन स्वीकृति दिएको हो । अदालतको आदेश पश्चात कम्पनीको अधिकृत पूँजी १५ अर्ब र चुक्ता पूँजी १० अर्ब कायम भएको हो ।