पूँजी बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउ परिसंघ र बोर्डले सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पूँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए ।

 

अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पूँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे । शेयर कारोवारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा पनि अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताए ।

 

यसैगरी परिसंघले नेपाल सरकारका दुई दर्जनभन्दा बढी निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गरे ।

 

सो अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूँजी बजारको विकास र सुधारका लागि थप पहलहरु लिइरहेको बताए । हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर-आवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन पनि अध्यक्ष ढुंगानाले आग्रह गरे ।

 

धितोपत्र बजार मार्फत पूँजीको सृजना तथा परिचालनलाई महत्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै शेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकोले परिसंघको सहयोग महत्वपूर्ण रहने पनि अध्यक्ष ढुंगनाले उल्लेख गरे ।

१ वर्षभित्रै बागलुङमा तामाखानी सञ्चालनमा आउने Read Previous

१ वर्षभित्रै बागलुङमा तामाखानी सञ्चालनमा आउने

बरामद १० लाख थान माक्स बजार मूल्यअनुसार विक्री गर्न निर्देशन Read Next

बरामद १० लाख थान माक्स बजार मूल्यअनुसार विक्री गर्न निर्देशन