बजारमा चरो-मुसो छैन, ८० प्रतिशतले घट्यो व्यापार

काठमाडौ । विश्वभर त्रासका रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा अहिले काठमाडौको मुख्य बजारको रुपमा रहेको असन, न्यूरोड, महाबौद्ध लगायतका ठाँउहरु सुनसान देखिन थालेका छन् । पहिला व्यस्त देखिने सडकहरु सुनसान हुन थालेका हुन् । सिनेमा हल, सपिङ महल, होलसेल पसलहरु लगभग शून्य नै देखिन्छ ।

 

बजारमा विस्तारै सामानहरुको अभाव देखिन थालेका छन् भने भएका सामानहरु किन्न आउने मान्छे पनि छैनन् । चीनबाट भित्रिने लत्ताकपडा तथा अन्य वस्तुहरु नेपाल भित्रिन पाएका छैनन् । त्यसको प्रभाव नेपाली बजारमा सजिलै देख्न सकिन्छ । अहिले बजारमा फेन्सी सामानहरुको अभाव देखिन थालेको छ ।

बजारमा नयाँ समानहरु भित्रिएको त छैन नै, स्टकमा भएका सामानहरु समेत बिक्न छाडिसकेको व्यवसायीहरु बताउँछन् । ‘बजारमा चहलपहल नै छैन, ग्राहकहरु आउँदैनन् । हाई काढेर बस्ने बाहेक केहि काम छैन’, इनर्जी सप्लार्यस, महाबौद्धका ध्रुव सुवेदीले चाण्क्य पोष्ट सँग भने । यसरी ग्राहकहरु आउन छाडे भने यही सामानले अझै ६ महिना पुग्ने उनले बताए ।

 

‘पसलमा सामान हुँदा हुँदै पनि किन्ने ग्राहकहरु नआउँदा दिनभरि मोबाइल चालाएर बस्ने गरेको छु’, न्यूरोडको शान्ता ट्रेर्डसकी अस्मिता लामा बताउँछिन् । विगतको तुलनामा व्यापारमा ८० प्रतिशत कमी आएको उनले बताइन ।

 

‘पसलमा व्यापारको अवस्था शून्य छ । कतिपय सामानहरु सकिएका छन् भने कति स्टक सामानहरु पसलमा छन् अहिले । घाटाको व्यापार भइरहेको छ’, हरिसिद्धि स्टोर महाबौद्धका, कुश श्रेष्ठले भने । यस्तै हो भने सटर भाडा र गोदाम भाडा समेत तिर्न नसकिने उनले बताए ।

 

बजारमा हिँड्ने मान्छेहरुको संख्यामा कमी आए सँगै व्यापार ठप्प भएको उनले बताए । ‘बजारमा गर्मीका लागि चाहिने कपडाहरु पर्याप्त मात्रामा छैनन् । किन्ने मान्छे पनि छैनन् । कुरो मिलेकै छ’, उनले भने ।

 

चीनबाट फैलिएको कोरोनाले विश्व बजारमा नै असर पारेको छ । सरकारले धेरै भिडभाडमा नहिँड्न र विशेष काम नपरी घरबाट ननिस्किन अनुराध गरे पश्चात बजार झन सुनसान भएको व्यापारीहरुको बुझाइ छ ।

एउटै गाउँपालिका जहाँ छन् १३ वटा जलविद्युत् आयोजना Read Previous

एउटै गाउँपालिका जहाँ छन् १३ वटा जलविद्युत् आयोजना

अब त्रिवि शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवेबाट Read Next

अब त्रिवि शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवेबाट