७ महिनामा थपिए साढे १० लाख करदाता

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा कुल १० लाख ४२ हजार ८८६ करदाता थपिएका छन् ।

 

आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा २१ लाख ७१ हजार ५२४ करदाता रहेकोमा चालू आवको माघमसान्त सम्ममा त्यो संख्या ४८.०३ प्रतिशतले बढेर ३२ लाख १४ हजार ४१० पुगेको छ ।

 

विभागका अनुसार चालू आवको ७ महिनामा मात्रै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ८७.७८ प्रतिशतले बढेको छ । सो अवधिमा ८ लाख ७१ हजार ५६८ जनाले व्यक्तिगत प्यान लिएका छन् । चालू आवको माघमसान्त सम्ममा व्यक्तिगत प्यान लिनेको कुल संख्या १८ लाख ६४ हजार ४४८ पुगेको छ । गत आवको असार मसान्तसम्ममा यो संख्या ९ लाख ९२ हजार ८८० थियो ।

त्यस्तै, चालू आवको ७ महिनामा व्यावसायीक प्यान (बी प्यान) लिनेको संख्या १४.२७ प्रतिशतले बढेको छ । सो अवधिमा १ लाख ६८ हजार ४८ कम्पनी तथा फर्मले बीप्यान लिएका छन् । हालसम्म बीप्यान लिनेको कुल संख्या १३ लाख ४५ हजार ९९५ पुगेको छ । गत आवको असारसम्ममा यो संख्या ११ लाख ७७ हजार ९०७ थियो ।

 

यस्तै सो अवधिमा ३२७० करकट्टी गर्ने निकायले प्यान नम्बर लिएका छन् । यो गत आवको असारको तुलनामा ४४३.६९ प्रतिशतले बढी हो । प्यान नम्बर लिने करकट्टी गर्ने निकायको संख्या हालसम्म ४ हजार ७ पुगेको छ ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत अनिवार्य रुपमा प्यान कार्ड लिनुपर्ने व्यवस्था लागू गरेको थियो । सो अनुसार कुनैपनि व्यक्तिले १ हजार रुपैयाँभन्दा बढी तलब वा पारिश्रमिक लिन अनिवार्य प्यान लिएको हुनुपर्ने व्यवस्था गरिएको थियो । सरकारले त्यसलाई परिमार्जन गर्दै हाल ३ हजारसम्म पारिश्रमिक लिन प्यान नचाहिने बनाएको छ ।

 

रोजगारदाताले पनि प्यान बिना गरिएको भुक्तानीलाई पनि कम्पनीले आफ्नो खर्चमा देखाउन नपाउने व्यवस्था गरेको थियो ।प्यानमार्फत भुक्तानी गर्दा कामदारले तिरेको करको यकिन विवरण आन्तरिक राजश्व विभागको तथ्यांकमा रहनेछ । यसबाट पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना रहँदैन ।

भारतसँग सीमा जोडिएका ५ नाका बन्द Read Previous

भारतसँग सीमा जोडिएका ५ नाका बन्द

एकै दिनमा तोलामा ३ हजारले घट्यो सुन Read Next

एकै दिनमा तोलामा ३ हजारले घट्यो सुन