काठमाडौं । लक्ष्मी क्यापिटलले तेस्रो बन्दमुखी म्युचुअल फण्ड लक्ष्मी उन्नती कोषको ८ करोड इकाई चैत ९ गतेदेखि विक्रीमा ल्याउने भएको छ।
यसअघि दुईवटा फण्ड सञ्चालन गरिरहेको क्यापिटलले १० वर्ष अवधिको प्रति इकाई १० रुपैयाँ दरमा ८० करोड रुपैयाँ बराबरको फण्ड विक्रीमा ल्याउन लागेको हो ।
विक्रीमा आउने कुल ८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई वा कूल विक्रीको १५ प्रतिशत कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखि बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणमा विक्री गरिने उल्लेख छ।
लगानीकर्ताले फण्डको इकाईमा छिटोमा चैत १३ गतेसम्म र ढिलोमा भने चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट समेत अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० इकाई (१ हजार रुपैयाँ) देखि अधिकतम ८० लाख इकाई (८ करोड रुपैयाँ)सम्मका लागि आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्रा एनपी आईआरबीबीबी प्लस र कोष व्यवस्थापकलाई इक्रा एनपी एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ।
लक्ष्मी क्यापिटल अन्तर्गत हाल ५ वर्षे अवधिको ‘लक्ष्मी भ्यालु फण्ड १’ र ७ वर्षे ‘लक्ष्मी इक्वीटी फण्ड’ सञ्चालनमा रहेका छन्। भ्यालू फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोड रहेको छ।