काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोराना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।
चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड-१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।
थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले खुलाउनु भएन । सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए ।
उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिए। भिसा रोकिएपछि स्वतः कटौती हुने उनले बताए। यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा डब्लुएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो ।
छिमेकी मुलुक भारतमा पनि संक्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका प्रवक्ता डा. खतिवडाले जानकारी दिए।
भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उनले जानकारी दिए।