काठमाडौं । चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार बढेको छ । गत वर्षको तुलनामा चालू आवमा घरजग्गा कारोबारमार्फत संकल हुने राजस्व ८५ प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालू आवको माघसम्ममा उपत्यकाका मालपोत कार्यालयबाट कुल १० अर्ब १८ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ६५ करोडले बढी हो । गत आवको सोही अवधिमा उपत्यकाका मालपोत कार्यालयबाट ५ अर्ब ५३ करोड ९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालू आवको सो अवधिमा रजिष्ट्रेशन अन्तर्गत ६ अर्ब ४९ करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको हो । ३ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पूँजीगत लाभकर अन्तर्गत संकलन भएको विभागले जानकारी दिएको छ । सो अवधिमा बागमती सभ्यताका लागि मात्र ७७ करोड ९८ लाख ५७ हजार रुपैयाँ छुट्याइएको थियो ।
चाबहिल मालपोत कार्यालयले चालू आवको माघसम्ममा १ अर्ब ४६ करोड ५८ लाख २७ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा चाबहिल मालपोत कार्यालयबाट १ अर्ब ३४ करोड १३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
मनमैजु मालपोत कार्यालयबाट चालू आवको ७ महिनामा ५० करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा सोही अवधिमा २३ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
टोखा मालपोत कार्यालयबाट चालू आवमा ४७ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सोही अवधिमा गत आवमा ४० करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
साँखु मालपोत कार्यालयबाट चालू आवमा ४८ करोड ४ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको हो भने गत आव सोही अवधिमा १८ करोड ३ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
कलंकी मालपोत कार्यालयले चालू आवमा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा गत आवमा ८८ करोड ९१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
भक्तपुर मालपोत कार्यालयमा चालू आवमा १ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा सोही अवधिमा ५५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
ललितपुर मालपोत कार्यालयबाट चालू आवमा २ अर्ब २७ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा सो मालपोत कार्यालयबाट १ अर्ब ९६ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो ।
चाबहिल मालपोत कार्यालय प्रमुख कलकबहादुर खड्काले विगतमा सरकारले राजस्व उठाउन मात्र ‘फोर्स’ गर्ने गरेकाले कम कारोबार हुने गरेको बताए । पछिल्लो समय सरकारले राजस्व संकलनलाई मात्र नभई राजस्व कर, सम्पत्ति शुद्धिकरण, स्रोत परिचालन गरेर घरजग्गा कारोबारलाई अघि बढाएपछि कारोबारका साथै राजस्व समेत बढेको उनको भनाइ छ ।
मालपोत कार्यालयमा डिजिटलाइजेसनसँगै सरकारले घरजग्गा कारोबार उठाउने राजस्वको संख्या समेत बढ्न गएको उनले बताए । ‘डिजिटलाइज भएपछि झन कहाँ के छ सबै थाहा पाउन सकिने भएकाले ढाँटेर छलेर कारोबार गर्न सक्ने वातावरण छैन, यसकै कारण कारोबार बढेको हो,’ खड्काले चाणक्य पोष्टसँग भने ।
यस्तै विगतमा अधिकांश कार्यालयमा अनलाइन कारोबार नहुने गरेको र पछिल्लो समय अनलाइन कारोबार बढ्नाले पनि धेरै कारोबार हुन सफल भएको उनले बताए ।