काठमाडौं । कांग्रेस नेता गगन थापाले एक अनलाइन पत्रिकासँग एकदम समझदार र विवेकपूर्ण कुराकानी गरे, केही दिनअघि । थापाले कोरोना भाइरसले विश्वव्यापी रुपमा फैलाएको महामारी, त्योसँग लड्न नेपालले अहिलेसम्म गरेको प्रयासको मूल्याङ्कन, अब सरकार र सबै सम्बन्धित क्षेत्रले चाल्नु पर्ने कदमहरु इत्यादिको बारेमा गम्भीर विचारहरु प्रस्तुत गरेका छन् ।
उनले नेपालको हालको अवस्थामा १०० जनालाई कोरोना संक्रमण भएमा त्यसको सामना गर्नका लागि स्वास्थ्य क्षेत्र, क्वारेन्टाइन निर्माणलगायत कामहरु कसरी हुनुपर्ने हो ? र त्यो काममा सरकार र सम्बन्धित निकायहरु कसरी चुकेका छन्, भन्ने कुरा विस्तारमा गरेका छन् । उनले त्यस लेखमा उप-प्रधानमन्त्रीको नेतृत्वको समिति बनाएर कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर चर्चा गरेका छन् ।
थापाले उठाएका मुद्दाहरुमा घोत्लिदाँ र सरकारको गति हेर्दा नेपालमा कोरोनाको महामारी फैलिएमा पशुपतिनाथले बाहेक कसैले बचाउन सक्दैन भन्ने कुरामा प्रष्ट भइन्छ । चीन र दक्षिण कोरिया, जापान आदि देशहरुमा कोरोना भाइरसको संक्रमणले मर्ने मानिसहरुको संख्या कम भएको त्यहाँको प्रभावकारी स्वास्थ्य सेवाको कारणले हो । नेपालमा त्यो स्तरको संक्रमण फैलिएमा काल पर्खिनु बाहेक अर्को विकल्प छैन ।
सरकारी संयन्त्रले जहिले पनि कुरा सुन्ने तर काम नगर्ने गरेको व्यवसायीको गुनासो छ । भाइरसको यो महामारी सबैभन्दा पहिला पर्यटन क्षेत्र तहसनहस हुन गइरहेको आफूहरूले देखेको उनीहरूले बताउँछन् । अबको केही दिनमा सरकारले यो क्षेत्रलाई जोगाउन नसके व्यवसाय धरापमा पर्नेमात्र होइन पर्यटन व्यावसायीहरु नै डुब्ने अवस्था सृजना हुने व्यवसायीको बुझाइ छ ।
नेपाली जनताको जिउ-ज्यानकै खति हुने र उनीहरुलाई बचाउन स्वंय पशुपतिनाथ ओर्लनु पर्ने अवस्था नआइसकेको भए पनि अन्य क्षेत्रमा भने धेरै नै खति भइसकेको बताउन थालेका छन् विभिन्न क्षेत्रका मानिसहरु ।
कोरोनाको विश्वव्यापी संक्रमणले गर्दा हाल साह्रै नै पिल्सिएको अवस्थामा रहेको तर, केही महिना अघिसम्म भने सरकारले निकै पुल्पुल्याएको पर्यटन क्षेत्रको चर्चा गरौ ।
नेपालको पर्यटन क्षेत्र हाल ध्वस्त हुने अवस्थामा रहेको व्यवसायीहरु बताउन थालेका छन् । सरकारले तामझामपूर्ण ढंगले भ्रमण वर्षको घोषणा गरेर नेपालको सम्बृद्धिको बलियो आधार पर्यटन क्षेत्र रहेको भनेर यो क्षेत्रलाई काँधमा बोकेको थियो । तर, जसै कोरोनाको कारणले यो क्षेत्र धरमराउन थाल्यो सरकारले आफ्नो काँधबाट यो क्षेत्रलाई उतारिदिएको व्यवसायीहरु गुनासो गर्न थालेका छन् ।
‘हामीले जसरी पर्यटन पूर्वाधारमा लगानी बढाएर २०२० भ्रमण वर्ष मनाउन सुरु गरेका थियौं त्यसलाई कोरोना भाइरसले पूर्णरुपमा ध्वस्त बनाएको छ । नेपालमा अहिले पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा, चितवन, काठमाडौं, लुम्बिनी लगायतका क्षेत्रमा रहेका होटल तथा पर्यटकीय रेष्टुराहरुको अवस्था निकै दयनिय भएको छ’, पर्यटन व्यवसायी सीएन पाण्डेले भने ।
‘होटलहरु ५ प्रतिशतको अकुपेन्सीमा पनि संचालित छैनन् । यस्तोमा अब कसरी अगाडि बढ्न सकिन्छ भनेर हामीले छलफललाई तीव्र बनाउँदै लगेका छौं ।’ पाण्डेको भनाइ छ ।
सरकारी संयन्त्रले जहिले पनि कुरा सुन्ने तर काम नगर्ने गरेको पाण्डेको गुनासो छ । भाइरसको यो महामारी सबैभन्दा पहिला पर्यटन क्षेत्र तहसनहस हुन गइरहेको आफूले देखेको उनले बताए । अबको केही दिनमा सरकारले यो क्षेत्रलाई जोगाउन नसके यो व्यवसाय धरापमा पर्नेमात्र होइन पर्यटन व्यावसायीहरु डुब्ने अवस्था सृजना भइसकेको उनको बुझाइ छ ।
‘सरकारले व्यवसायीसँग कर मात्रै उठाउने कि संकटमा संरक्षण पनि गर्ने ? पर्यटन वर्ष २०२० भनेर होटल, एयरलाइन्स, ट्राभल र ट्रेकिङ एजेन्सीमा गरेको ऋण लगानीको बैंक ब्याज तिर्न नसक्ने अवस्थामा छन् । यी सबै क्षेत्रमा गरिएको लगानी रुग्ण छ । र, व्यवसायी डुब्ने अवस्थामा हुँदा सरकार मौन छ ।’
पर्यटन मजदूरको अवस्था पनि दयनीय भएको उनी बताउँछन् । ‘यहाँ कुरा पर्यटन व्यवसायीको मात्रै होइन पर्यटन मजदूरको अवस्था पनि त्यस्तै छ । हामीले धेरै यूनिट होटलहरु बन्द गरिसकेका छौं । ट्राभल एजेन्सीहरुले टिकटको रकम एकैपटक फिर्ता गर्न सक्ने अवस्था समेत सकिएको छ । यस्तोमा हामी सरकारको ढोका चहार्नुको अर्को विकल्प छैन’, उनी भन्छन् ।
तर, सरकारका प्रतिनिधिहरु भने कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न आफूहरु लागि परेको बताउँछन् । ‘मौद्रिक नीतिको अर्ध-वार्षिक समिक्षामा कोरोनाको प्रभाव न्यूनीकरण गर्ने विषय परिसकेको छ । उहाँहरुलाई वित्तीय क्षेत्रले के-कस्तो सहयोग गर्नुपर्ने हो त्यो गर्न हामी तयार छौं । ऋण तिर्ने अवधि बढाउने, पुनर्संरचना गर्ने, ब्याज छुट दिने आदि विषयमा हामी खुल्ला छौं’, राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने ।
तर, व्यवसायीहरुलाई राहत दिने ठोस कार्यक्रम केही शुरु भएको छ की ? भन्ने प्रश्नको ठोेस जवाफ भने उनीसँग थिएन । ‘कसलाई कति र कसरी राहत दिने भन्नको लागि त पहिले अध्ययन गर्नुपर्छ । सबैलाई एकैनाशको राहत दिन सकिने कुरा भएन । फेरी उहाँहरु आएर गर्भनर सावसँग कुरा गरेको पनि मेरो जानकारीमा छैन’, भट्ट भन्छन् ।
सरकारी अधिकारीहरु सरकारका संयन्त्रले सक्दो काम गरिरहेको बताए पनि विभिन्न क्षेत्रका मानिसहरु भने सन्तुष्ट छैनन् । यसै सन्दर्भमा हाइड्रो व्यवसायी प्रकाश दुलाल आफ्नो फेसबुक स्टाटसमा लेख्छन्,‘सरकारले व्यवसायीसँग कर मात्रै उठाउने कि संकटमा संरक्षण पनि गर्ने ? पर्यटन वर्ष २०२० भनेर होटल, एयरलाइन्स, ट्राभल र ट्रेकिङ एजेन्सीमा गरेको ऋण लगानीको बैंक ब्याज तिर्न नसक्ने अवस्थामा छन् । यी सबै क्षेत्रमा गरिएको लगानी रुग्ण छ । र, व्यवसायी डुब्ने अवस्थामा हुँदा सरकार मौन छ । चिनियाँ ठेकेदार भएका जलविद्युत् आयोजना र प्रसारण लाइनमा निर्माण कार्यमा ढिलाइका कारणले जलविद्युत्को लागत बढ्दै छ ।’
उनी थप लेख्छन्,‘जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल ठेकेदार चिनियाँ भएका आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यी आयोजनाको लागत बढ्नुका साथै रुग्ण हुँदै छन् । चीनसँग वस्तु आयात-निर्यात गर्ने फर्म र सो सँग सम्बन्धित ढुवानी व्यवसायीले बैंक ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको छ । तर, सरकार मौन छ ।’
कोरोनाको प्रभाव पर्यटन लगायत अन्य उद्योगहरुमा कस्तो परिरहेको छ र तिनलाई राहत दिने कस्ता योजनाहरु छन् भन्ने प्रश्नको जवाफमा उद्योग मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भुसाल यी विषयमा सम्बन्धित मन्त्रालयलाई मात्र थाहा हुन्छ भन्दै उम्किए । कुनै संयुक्त प्रयास छैन ? भनेर सोध्दा भुषाल भन्छन्,‘यो त माथिल्लो तहले बनाउने नीतिगत कुरा हो ।’
यसैगरी व्यवसायीलाई राहतको सन्दर्भमा सरकारको कार्यक्रमका बारेमा पर्यटन मन्त्रालयमा बुझ्ने प्रयास गर्दा पर्यटन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङको फोन आज दिनभर व्यस्त रह्यो । आशा गरौं उनको व्यस्थता व्यवसायीलाई राहत दिन र कारोनाको प्रभाव न्यूनीकरण गर्ने उपायहरु खोज्नका लागि होस् ।