नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र धादिङको नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ ।

 

नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी बुधबार व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

 

धादिङ सदरमुकाम धादिङ वेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुंगाना र नेपाल बैंकका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरे ।

 

सम्झौताअनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् । सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउनेछन् । सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् ।

 

बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । सम्झौता तथा घोषणा सभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप व्याज अनुदान पाउने बताए।

 

नगरप्रमुख ढुंगानाले नेपाल बैंकमार्फत मेयर विकास उद्यमशिलताकार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए ।

३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यसहित तनहुँमा उद्योग स्थापना हुँदै Read Previous

३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यसहित तनहुँमा उद्योग स्थापना हुँदै

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै Read Next

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै