यस्तो छ नेप्सेको सर्किट सम्बन्धी नयाँ व्यवस्था

काठमाडौं । सेयर बजार आफैंमा अस्थिर हुन्छ । यसको प्रवृत्ति नै गतिशील हुने भएकाले यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रम जारी हुन्छ । यस्तो अवस्थामा बजार अस्वभाविक हुन पुग्दछ । जसले गर्दा लगानीकर्तालाई धेरै फाइदा/क्षति हुने सम्भावना हुन्छ ।

त्यसैले लगानीकर्तालाई एकैपटकमा धेरै फाइदा/घाटा नपुगोस भनेर सम्बन्धित नियामक निकायले निश्चित प्रतिशतको घट/बढपछि कारोबार स्थगन गर्ने कानूनी व्यवस्था गरेको हुन्छ । जसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो अत्याधिक सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टाभित्र ( नप्सेमा ११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ ।

यसैगरी कारोबार शुरु भएकोे दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।

यस्तै दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट/बढ हुने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा ( १ बजेदेखि ३ बजेसम्मको बीचमा) परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

यस अघि नेप्सेले कारोबार पहिलो घण्टमा ३ प्रतिशत घटे/बढेमा १५ मिनेट, दोस्रो घण्टामा ४ प्रतिशत घटे/बढेमा ३० मिनेट र तेस्रो घण्टा वा त्यस पछिको समयमा ५ प्रतिशत घटे/बढेमा पूरै दिनको सम्पूर्ण कारोबार बन्द गर्ने व्यवस्था रहेको थियो ।

कम्पनीको हकमा भने प्रत्येक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घट/बढ भएपछि सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढ सम्ममा मात्र कारोबार गर्न पाइन्छ ।

बसपार्कमा २९ तले भ्यूटावर बनाउने ठेक्का लिएका भेटवालद्वारा आत्मसर्मपण Read Previous

बसपार्कमा २९ तले भ्यूटावर बनाउने ठेक्का लिएका भेटवालद्वारा आत्मसर्मपण

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे, कुन एयरलाइन्सको कति कटौती Read Next

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे, कुन एयरलाइन्सको कति कटौती