काठमाडौं । काठमाडौं पुरानो बसपार्कमा भ्यूटावर निर्माण कम्पनीका ठेकेदार मनोज कुमार भेटवालले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।
फरार भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले खोजी रहेको थियो । भेटवाल मङगलबार बिहान आफैं प्रहरी परिसरमा उपस्थित भएको टेकु प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार भेटवाललाई उच्च अदालत, पाटनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चन्द्र तामाङले किटानी जोहरी गरेका थिए ।
भेटवाल यस अघि पनि एपेक्स डेभल्पमेन्ट बैंकमा भएको डेढ अर्ब घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।
काठमाडौं पुरानो बसपार्कस्थत २९ तलाको बहुउद्देश्यीय भ्यू टावर बनाउने ठेक्का पाएका उनी ‘क’ वर्गका ठेकदार हुन् । ७ अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवाल प्रहरीमा मुद्दा दायर भएपछि भारत फरार भएका थिए ।
२०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना जग्गामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो । सम्झौता भएको ६ वर्ष पूरा हुँदा निर्माणले गति लिन नसकेको हो ।