५ अर्ब बढीको सामान चिनियाँ नाकामा, लुगाफाटो र इलेक्ट्रोनिक्स सामानको अभाव हुने संकेत

काठमाडौं। पछिल्लो डेढ महिनादेखि बन्द रहेको छिमेकी मुलुक चीनसंगको नाका सुचारु हुन अझै केही समय लाग्ने भएको छ । कोराना भाइरस (कोभिड १९) का कारण विगत डेढ महिना भन्दा लामो समयदेखि चीनसंगको सबै नाका बन्द रहेका छन् । चीनमा कोरला भाइरस संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नभएकाले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्र्दै मुख्य नाका खोल्न हतार नगरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

 

नेपाल–चीन व्यापारका प्रमुख दुई नाकाहरु रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी माघ १५ यता पूर्णरुपमा बन्द छन् । उक्त नाकाहरु बन्द हुँदा हालसम्ममा नेपाली व्यापारीका ५०० भन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन् । ती कन्टेनरमा ५ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको व्यापारीहरुको भनाइ छ ।

 

उत्तरी नाका खुलाउने वा नखुलाउने भन्ने विषयमा गत साता चार मन्त्रालयका वरिष्ठ अधिकारीहरुको बैठक बसेको थियो । अर्थ, गृह, स्वास्थ्य र वाणिज्य सचिवहरुको सो बैठकले उत्तरी नाकाहरुमा स्वास्थ्य परीक्षणका उपकरण उपलब्ध नभएसम्म नाका सुचारु गर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

 

हामीसंग चीनबाट आउने मानिसको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण छैन– अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री भन्छन् । तसर्थ उपकरणको उपलब्धता पश्चात मात्रै नाका सुचारु गर्ने पक्षमा रहेको उनले स्पष्ट पारे । खत्रीका अनुसार नाका सुचारु गर्ने भन्दा पनि मुलुकको सुरक्षालाई सरकारले तत्कालको प्राथमिकतामा राखेको हो ।

 

‘चीनबाट ल्याइएका विद्यार्थीलाई गत सोमबार घर पठाइएको अवस्था छ । यद्यपी संक्रमणको त्रास कायमै छ, खत्री भन्छन् । मुलुकको सुरक्षालाई दृष्टिगत गर्दै नाका निर्बाध संचालनमा आउन समय लाग्ने देखिएको छ ।’ नाकामा स्वास्थ्य परीक्षणका लागि पर्याप्त उपकरणको व्यवस्था गर्ने तयारी भइरहेको समेत प्रवक्ता खत्रीले जानकारी गराए । संक्रमण कम भएपछि उचित सुरक्षा प्रणाली अपनाई निर्बाध रुपमा नाका संचालनमा ल्याइनेछ,’ उनले भने ।

 

गत साता बसेको बैठकमा सीमालाई कडा निगरानीमा राख्न चुनौती रहेको बताउँदै चेकजाँचलाई चुस्त पारेर छिट्टै नाका खुलाउनेबारे छलफल अघि बढाइने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका थिए । यसका लागि मन्त्रालयको पहलमा सीमा नाकामा चेकजाँच बलियो बनाउनेबारे अर्थ, वाणिज्य, गृह, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु निरन्तर छलफलमा रहेको समेत जानकारी गराएका थिए ।

 

भारतपछिको नेपालको वैदेशिक व्यापारको दोस्रो ठूलो बजार भनेको चीन रहेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको७ महीनाको अवधिमा नेपालले चीनबाट १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वस्तुहरु आयात गरेको छ । यता नेपालबाट भने चीनमा सोही अवधिमा मात्रै १ अर्ब ६ करोड रुपैयाँ बराबरका विविध सामाग्री निर्यात भएका छन् ।

 

कोरोना संक्रमणका कारण आयातसंगै आवतजावत पनि ठप्प हुँदा चिनियाँ श्रमिक संलग्न रहेका केही महत्वपूर्ण पूर्वाधार आयोजनाको काम समेत प्रभावित बनेको पछिल्लो अवस्था छ । यसरी, मुख्य नाका अझै लामो समय बन्द भएमा बजारमा चीनबाट आयात गरिने वस्तुको अभाव हुने व्यवसायीहरुको दाबी छ ।

 

नेपालले चीनबाट आयात गर्ने मुख्य वस्तुहरुमा इलेक्ट्रोनिक सामाग्री, मेशिनरी उपकरण, तयारी पोशाक, खेलौना, दूरसञ्चार सामग्री, फूटवेयर तथा रबररप्लास्टिका वस्तुहरु साथै विद्युतीय बत्ती लगायत रहेका छन् ।

 

कालोबजारी गरे ११३७ नम्बरमा फोन गर्नुस् Read Previous

कालोबजारी गरे ११३७ नम्बरमा फोन गर्नुस्

गति लियो धरहरा पुनःनिर्माणले, नवौं तलाको काम जारी Read Next

गति लियो धरहरा पुनःनिर्माणले, नवौं तलाको काम जारी