घरजग्गाको कारोबार बढ्यो, गत वर्षभन्दा ११ अर्ब बढी राजस्व संकलन
चाणक्य पोष्ट
प्रकाशित : 4:56 pm, बिहीबार, फाल्गुन २२, २०७६

काठमाडौं । चालू आर्थिक वर्षमा घरजग्गाको कारोबार बढेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा देशभरका मालपोत कार्यालयबाट २५ अर्ब ३४ करोड ७४ लाख १८ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । गतवर्ष सोही अवधिमा माघसम्ममा कुल १४ अर्ब २३ करोड ४४ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

चालू आवको माघ मसान्तसम्ममा पूँजीगत लाभकर अन्तर्गत ५ अर्ब ९५ करोड ५ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, रजिष्ट्रेशन दस्तुरबापत सो अवधिमा १४ अर्ब ७६ करोड ६६ लाख ८४ हजार रुपैयाँ संकलन भएको विभागको तथ्यांकले देखाएको छ । यस्तै वागमती सभ्यता अन्तर्गत ७८ करोड २८ हजार रुपैयाँ छुट्याइएको विभागले जनाएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ को रजिष्ट्रेशन दस्तुरबापत सो अवधिमा १२ अर्ब ५१ करोड ४५ लाख ९४ हजार रुपैयाँ संकलन भएको थियो । यस्तै, अन्य शीर्षकतर्फ १ अर्ब ७१ करोड ९२ लाख २८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

गत आर्थिक वर्षमा कुल ३६ अर्ब ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । रजिष्टेशन दस्तुरतर्फ २३ अर्ब १८ करोड ६६ लाख ७३ हजार रुपैयाँ संकलन भएको थियो ।

 

पूँजीगत लाभकरतर्फ सो आवमा कुल ९ अर्ब ७८ करोड ३६ लाख ६५ हजार रुपैयाँ संकलन भएको थियो । वागमती सभ्यता करतर्फ १ अर्ब १८ करोड ८ लाख २२ हजार रुपैयाँ रकम छुट्याइएको थियो ।

 

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले विगतको तुलनामा कित्ताकाटको संख्यामा केही कमी आएको बताए । ‘विगतमा भन्दा कित्ताकाटमा केही कमी आएको हो, पहिले जस्तो जथाभावी गर्न पाँइदैन, अशंबण्डा र सहरी क्षेत्रमा हामीले खुला गरेका छौं,’ जोशीले भने ।

 

उनले नयाँ नापी भएको र बसोबासका लागि तोकिएको स्थानमा जहिलेसुकै कित्ताकाट गरे पनि नरोकिएको दाबी गरे । अन्य स्थानमा वर्षमा एक पटक वा दुई पटकको दरले मात्र कित्ताकाट गर्न मिल्ने व्यवस्था भएको स्पष्ट गराए । अंशबन्डाको लागि समेत यस अन्तर्गत खुला गरिएको उनले बताए ।

 

यस्तै कृषि योग्य जमिनमा भने स्थानीयले विगतमा कृषि जमिन भएको र हाल सहरी विकास भएको /बसोबास भएको क्षेत्रमा नापी कार्यालय मार्फत कित्ताकाट गर्न पाउने व्यवस्था रहेको उनले बताए ।