रानीपोखरीमा चैतसम्ममा पानी राखिने

काठमाडौं । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने तयारी गरिएको हो ।

 

पोखरीमा राखिने पानी तीन स्थानबाट ल्याइने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ । त्रिचन्द्र कलेज क्षेत्रबाट एउटा र अर्को शान्तिबाटिकाबाट बोरिङ खनी पानी ल्याउने तयारी छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पोखरीका लागि पानी लगिनेछ ।

 

मेलम्चीको पानी आएपछि त्यहाँबाट पनि ल्याइने प्रबन्ध मिलाइनेछ । अहिले पर्खाल निर्माण तथा मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । वैशाखसम्मा ती सबै काम सकिनेछ ।

 

समग्रमा महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको काम ६४ प्रतिशत सम्पन्न भएको छ । पोखरीमाथि सौन्दर्य अभिवृद्धि गर्ने काम पनि तीव्ररूपमा अघि बढेको प्रधिकरणले जनाएको छ । पोखरीमा अहिले इँटा लगाउने काम भइरहेको छ । हाल ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन् ।

 

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

 

त्यसैगरी बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम तीव्ररूपमा भइरहेको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ, त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्न पाउनेगरी पुनःनिर्माणको काम भइरहेको जानकारी दिए ।

 

उनले भने, ‘निर्माणअन्तर्गत धेरै काम सम्पन्न भइसकेको छ । बाँकी काम नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न हुने कुरामा कुनै शङ्का लिनुपर्दैन ।’

 

शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।

 

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।

 

मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

 

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए ।

 

रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत ९ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिने छ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । रासस

इन्दुशंकर चिनी उद्योगले दियो उखु किसानको ५० करोड भुक्तानी Read Previous

इन्दुशंकर चिनी उद्योगले दियो उखु किसानको ५० करोड भुक्तानी

घरजग्गाको कारोबार बढ्यो, गत वर्षभन्दा ११ अर्ब बढी राजस्व संकलन Read Next

घरजग्गाको कारोबार बढ्यो, गत वर्षभन्दा ११ अर्ब बढी राजस्व संकलन