काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा सुन तथा सुनका गरगहना राख्दा ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशिका जारी गर्दै सुनका गहनालाई पनि निक्षेपका रुपमा राख्न पाउने व्यवस्था गरेको छ । सोसँगै सुन निक्षेपमा राख्दा ब्याज पाइने भएको हो ।
राष्ट्र बैंकले लकरमा राखिएका गहनालाई समेत निक्षेपका रुपमा राख्न पाइने व्यवस्था गरेको थियो । यसअघि लकरमा सुन राख्दा उल्टै बैंकलाई पैसा तिर्नुपर्ने व्यवस्था थियो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् सुन चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने सकिने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका अनुसार बैंकहरूले सुनलाई निक्षेपको रुपमा लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गर्नु पर्नेछ । निक्षेपमा राखिने सुनको शुद्धता जाँच गरी कम्तीमा ९९५ फिट्नेसका सुनमात्र निक्षेपको रुपमा राख्न पाउनेछन् ।
ग्राहकले सुन निक्षेपको रुपमा राख्दा न्यूनतम २५ ग्राम सुन राख्नु पर्नेछ । ग्राहकले बैंकमा सुन न्यूनतम ३ वर्षदेखि अघिकतम ५ वर्षका लागि राख्न पाउने राष्ट्र बैंकले जनाएको छ । ग्राहकले १० लाखभन्दा बढीको सुन निक्षेपमा राख्दा अनिवार्य रुपमा त्यसको स्रोत खुलाउनु पर्नेछ ।
निक्षेपको ब्याजदर बैंकहरूरुले नै निर्धारण गर्नेछन् । नगदमा ब्याज लिन चाहने ग्राहकले त्रैमासिक रुपमा ब्याज पाउनेछन् भने सुनमा ब्याज लिन चाहने ग्राहकले त्रैमासिक रुपमै चक्रिय ब्याजदरका आधारमा ब्याज पाउनेछन् ।
ग्राहकले सुनलाई बैंकमा निक्षेपको रुपमा राखेपछि सोही बैंकबाट निक्षेपको ७० प्रतिशत निक्षेपको ब्याजमा २ प्रतिशत थप गरी कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।