काठमाडौं । शिखर इन्स्योरेन्सले यही चैत १३ गते हकप्रद सेयर निष्काशन गर्ने भएको छ।कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले १ सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद ष्किाशन गर्न लागेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आइपीओ ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ। ग्रेड ३ रेटिङले इन्स्योरेन्सको वित्तीय आधारभूत अवस्था औसत छ भन्ने बुझाउँछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।